無料イラスト【イラストAC】

अक्टोबर ३
फुकुओका
नेपालीहरुको महान पर्व बडादशैं आज पहिलो दिन घटस्थापनाबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।
बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत नेपाली समय अनुसार बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन
विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।
कसैकसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतम बताउँछन् ।

नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।
यस वर्षको दशैंको टीका नेपालमा असोज २६ गते शनिबार र अन्य देशहरुमा नेपाल पञ्चांग निर्णायक समितिले प्रकाशन गरेको साइत अनुसार परेको छ ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *