टोकियो
नोभेम्बर १९
नेपाल पत्रकार महासंघ जापान शाखाको छैठौं अधिवेशन यहि नोवेम्वर २३ तारिख आइतवारका दिन टोकियोमा हुने भएको छ । अधिवेशनबाट आगामी ३ वर्षको कार्यकालका लागि नयाँ नेतृत्वसहित नयाँ कार्यसमिति निर्माण गर्नुका साथै भावी कार्ययोजना तथा मार्गचित्र तय गरिने बताईएको छ । शाखाका अध्यक्ष शान्त पहरीका अनुसार अधिवेशनको सबै तैयारी पूरा भईसकेको छ भने नयाँ कार्यसमिति निर्माण प्रक्रिया सम्पन्न गर्न खगराज गौतमको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको सदस्यहरुमा पूर्ण चलाउने र खड्कसिंह गुरुङ रहेका छन् ।
नयाँ नेतृत्वका लागि हालका उपाध्यक्ष रविन्द्र श्रेष्ठ, सल्लाहकार कविकिरण न्यौपाने र सचिव राजन गौतम आकाँक्षी देखिएका छन् भने सचिवमा हालका कोषाध्यक्ष अर्जुन लामिछाने र सहसचिव बिश्वास आचार्यको नाम चर्चामा छ । करिव ९० जना साधारण सदस्य संख्या रहेको जापान शाखामा सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा एकमत छ, त्यसका लागि वातावरण बनाउन र पहल गर्न शाखाका संस्थापक अध्यक्ष तिलक मल्लको संयोजकत्वमा ४ सदस्यीय कार्यदल बनाईएको छ । जसमा हालका अध्यक्ष पहरी, पूर्व अध्यक्ष मोहन घले र निर्वाचन समितिका संयोजक गौतम रहेका छन् । अधिवेशनका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा आउने कार्यक्रम रहेको सचिव गौतमले बताए ।
परिवर्तित सन्दर्भमा जापानमा क्रियाशील नेपाली पत्रकारहरुको साझा संस्था महासंघको गरिमा एवं विरासतलाई अझ उच्च बनाउँदै पत्रकारितालाई थप व्यवस्थित एवं मर्यादित गराउनुपर्ने चुनौती एकातिर छ भने डायस्पोरामा रहेर कलम चलाईरहेका पत्रकारहरुको हक, हित र अधिकारका विषयमा आवाज बुलन्द गर्दै जापानको नेपाली समुदायबीच थप गतिशिल हुनुपर्ने आवाज चौतर्फी उठ्न थालेको छ ।


