फुकुओका
अप्रिल ३०
२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा जापानको फुकुओकामा फुकुओका नेपाल सोसाइटीको आयोजनामा बुद्ध जयन्ती विशेष कार्यक्रम नानजोइन टेम्पल फुकुओका सासागुरीमा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा फुकुओका नेपाल सोसाइटीले फुकुओकामा बसोबास गर्ने नेपालीहरुलाई सहभागीताका लागी आधीकारीक फेसबुक पेजबाट आह्वान गरेको छ ।
शान्ति, करुणा र सहअस्तित्वका अमूल्य सन्देशका वाहक भगवान बुद्धको जन्मजयन्तीको ऐतिहासिक अवसरमा आयोजना गरिने यस कार्यक्रममा विभिन्न क्षेत्रका नेपाली समुदायका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रमलाई थप अर्थपूर्ण, प्रेरणादायी र सफल बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा व्यक्त गरेका छन्। साथै उक्त कार्यक्रमले जापानीज समुदायमा बुद्धको जन्म स्थान जानका लागी प्रेरणा प्रदान गर्ने आशा गरीएको छ ।
कार्यक्रम आगामी २०८३ साल बैशाख १८ गते, शुक्रबार (१ मे २०२६) का दिन फुकुओकाको सासागुरीमा रहेको नानजोइन टेम्पल (जहाँ गौतम बुद्धको सुतेको आकृती छ)मा आयोजना गर्न लागीएको छ । कार्यक्रम बिहान ९ः३० बजेदेखि सञ्चालन हुने जनाइएको छ। यस विशेष समारोहमार्फत बुद्धका उपदेशहरूलाई आत्मसात गर्दै समाजमा शान्ति र सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले बताएका छन्। साथै विश्व शान्तीको कामना सहीत दिप प्रज्वलन गरीने छ ।


