फुकुओका
नोभेम्बर २१
जापान सरकारले आउने वर्षभित्रै जापानमा बसेका विदेशीहरूको बसोवास प्रक्रियाको सेवा शुल्कलाई युरोप, अमेरिका बराबर महँगो बढाउने नीतिलाई निश्चित गरेको छ। यसका लागि आवागमन नियन्त्रण तथा शरणार्थी मान्यता कानुन (入管法) संशोधन प्रस्ताव आगामी नियमित संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। शुल्क वृद्धिबाट प्राप्त आम्दानीलाई विदेशी बसोवास वातावरण सुधार, अवैध बसोवास गर्नेहरूको जबरजस्ती स्वदेश फिर्ता लगायतका नीतिको खर्चमा प्रयोग गरिनेछ।
यो योजना धेरै सरकारी तथा सत्तारूढ दलका सम्बन्धित व्यक्तिहरूले पुष्टि गरेका हुन्। सरकारले छिट्टै सार्वजनिक गर्न लागेको समग्र आर्थिक नीतिमा
「२०२६ आर्थिक वर्षमा प्रमुख देशहरूको स्तरलाई आधार मानेर बसोवास तथा भिसा शुल्क पुनरावलोकन गरी बढाउने」भनेर उल्लेख गर्ने तयारी भइरहेको छ।
यस वर्ष अप्रिलदेखि नै मूल्य र मानव संसाधन खर्च बढेकाले शुल्क अधिकतम २,००० येनले बढाइएको थियो। हाल बसोवास प्रकार परिवर्तन र बसोवास अवधि नवीकरण → ६,००० येन, स्थायी बसोवास आवेदन (永住許可) → १०,००० येन रहेको छ।
तर यसपटक सरकारले बसोवास प्रकार परिवर्तन तथा १ वर्षभन्दा बढी नवीकरण शुल्कलाई ३०,०००–४०,००० येन स्थायी बसोवास शुल्कलाई १००,००० येनसम्म पुराउने गरी मुख्य प्रस्तावमा छलफल गरिरहेको छ। हालको कानुन (入管法) ले शुल्कको उच्चतम सीमा १०,००० येन मात्र राखेकाले यो भन्दा बढी बढाउन कानुन संशोधन आवश्यक हुन्छ। यस्तो संशोधन १९८१ पछि पहिलो पटक हुनेछ।
विश्वका अन्य देशहरूमा बसोवास प्रक्रियाको शुल्क
जापानको तुलनामा युरोप–अमेरिका बढी महँगो छ।
अमेरिका : ४२०–४७० डलर (झण्डै ६५,०००–७३,००० येन)
बेलायत : ८२७ पाउण्ड (झण्डै १६९,००० येन)
जर्मनी : ९३–९८ युरो (झण्डै १६,०००–१७,००० येन)
जापानमा विदेशी बसोवासको स्थिति अध्यागमन व्युरो (出入国在留管理庁) अनुसार
२०२५ जुन महिनासम्म जापानमा विदेशी ३९लाख ६० हजार पुगिसकेका छन्, जुन इतिहासमै धेरै हो।
भिसा प्रकियाको शुल्क वृद्धि बाट प्राप्त रकम आवागमन परीक्षण (इमिग्रेसन) छिटो गर्ने, जापानमा रहेका विदेशी नागरीकहरुको जापानी भाषा शिक्षा सुधार गर्ने, लगभग ७०,००० अवैध बसोवासकर्ता विरुद्ध कडा कारबाही गरी देश फिर्ता गर्ने, आदि कार्यमा प्रयोग गरिनेछ।
भिसा (査証) शुल्क पनि बढ्ने तयारी विदेश मन्त्रालयले पनि भिसा शुल्क युरोप–अमेरिका बराबर बढाउने योजना बनाइरहेको छ। यो परिवर्तन १९७८ पछि पहिलो पटक हुनेछ। प्राप्त रकम ओभर–टुरिज्म नियन्त्रण मा लगाइनेछ।


