फुकुओका
जुलाई २८
जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना गरिने भएको छ । ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव २०२५ अगस्त महिनामा जापानका चार ठूला शहर टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले जानकारी दिनुभएको छ ।
‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ मुख्य उद्देश्यसहित सुरु हुन लागेको यो फेस्टिबलले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
फेस्टिबलमा नेपालको चर्चित र लोकप्रिय संगीत समूह स्वर, द एज र कबवेबले विशेष प्रस्तुति दिनेछन् । परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने स्वरले आफ्ना चर्चित गीत ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता गीतमार्फत दर्शकको मन जित्ने तयारी गरेको छ ।

भावनात्मक ऊर्जा र सामाजिक सन्देश समेटिएका गीतमार्फत युवा पुस्तासँग गहिरो सम्बन्ध बनाउँदै आएको द एज ब्यान्डले यो फेस्टिबललाई आफ्नो २५औँ वार्षिकोत्सवकै रूपमा विशेष बनाउन आयोजकसंगको सहकार्यमा तयारी गरीरहेको छ ।
नेपाली रक संगीतमा क्रान्ति ल्याएको कबवेब ब्यान्डको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण मानिएको छ । फेस्टिबल फुकुओकाको जेप्प फुकुओकामा अगस्ट ११ तारीकका दिन आयोजना हुदैछ । प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिबलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ ।
कार्यक्रमको टिकट मेरोटिकटमार्फत अनलाइन उपलब्ध हुनेछ। अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यान पिट र भिआइपी प्याकेजसहितका टिकटहरू डिजिटल रुपमा बिक्रीमा ल्याइनेछन्, जसमा ठगी रोक्न विशेष प्रविधि समेत प्रयोग गरिनेछ । तीनवटै भाषामा (नेपाली, जापानी र अङ्ग्रेजी) हुने प्रचार अभियान, कलाकारहरूको डिजिटल सन्देश, पोस्टर र ब्यानरमार्फत कार्यक्रमको व्यापक प्रचार गरिने योजना छ ।
अनलाइन बाहेक आयोजक टिम, मिनी नेपाल रेस्टुरेन्ट र घिसिङ्ग हलाल सपमा उपलब्ध भै रहेको छ ।
फेस्टिबल इन्डोर स्थानहरूमा आयोजना गरिने भएकाले व्यावसायिक ध्वनि प्रविधि, प्रकाश व्यवस्था, सुरक्षाकर्मी, द्विभाषिक कर्मचारी र आपतकालीन तयारीसहित सुरक्षित वातावरण सुनिश्चित गरिने आयोजकले बताएका छन् । ‘हामी हाम्रो संगीत, हाम्रो संस्कृति, हाम्रो नेपालमा गर्व गर्छौं’ भन्ने नाराका साथ ल्याइएको नेपाल म्युजिक फेस्ट २०२५ नेपाली संगीतप्रेमीहरूका लागि ऐतिहासिक अवसर हुने देखिन्छ ।
