manjul-miteri

लागेथ्यो
तिमी अब फेरि कहिल्यै फुल्ने छैनौ
जतिबेला देखेंथें तिमीलाई
कुनै घुर्मैलो एक सॅाझ
फूलबिना उदास
पातबिना उजाड

बतासजस्तै समयका झोंक्काहरुले
चॅुडाले तिम्रा फूलहरु, पातहरु
तिम्रो छेवैको समुद्र किनारमा
आइरहे, गइरहे हजारौं छालहरु
सहेरै ती कठोर यामहरु
पर्खिरह्यौ तिमीले वसन्त

तिम्रो छहारीमुनि
गुञ्जिए होलान् प्रेमका मीठा मीठा बातहरु
छुट्टिए होलान् विछोडका अन्तिम अंकमालहरु
सजिए होलान् भविष्यका सुन्दर सपनाहरु
लेखिए होलान् कति कति सुसाईडल नोटहरु

फेरि आए आएनन् ती प्रेमिल जोडीहरु
पूरा भए भएनन् ती मीठा सपनाहरु
फेरि भेट भए भएनन् विछोडिएका ती मनहरु
फेरि फर्किए फर्किएनन् मृत्यू रोजेका ती जीवनहरु

ती चिसा तुफान र हिउॅ खपेर
ती विछोड र वैरागहरुलाई भुलाएर
तिम्रै न्यानो ॲगालोभरी
आशा र विश्वास फुलाएर
सायद उनीहरुकै पर्खाईमा फुलेको हुनुपर्छ तिमी
र आज
तिमी जस्तै फुल्न चाहने एउटा मन बोकेर
अडेस लाग्न आएको छु म

साकुरा!
तिमी यस्तरी पनि फुल्दोरहेछौ कि
तिमीले भोगेका ती हिउॅद, बर्खा, तुफान
अनि ॲध्याराहरुलाई बिर्सिएर
उज्यालो
तिमी यस्तरी पनि फुल्दोरहेछौ कि
भोली फेरि छिट्टै झरीजानुको वेदनालाई लुकाएर
हॅसिलो

सत्य साकुरा!
तिमीलाई देखेपछि त अब
बॅाकी रहेनन् मेरा पनि कुनै
गुनासो जिन्दगीको

मञ्जुल मितेरी
कुमामोतो, जापान

,
Latest Posts from FN News

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।