tihar

तिहार
तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक पनि भन्ने गरीन्छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने धार्मिक विश्वास छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

पौराणीक कथा
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दूशास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ¨जे मन लाग्छ वर माग¨ भन्दा यमुनाले ¨हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्¨ भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई प्रस्तुत गर्नुका साथै मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र पनि यसले छर्लङ्ग पार्दछ।

सामाजीक महत्व
तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन । यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको पूजा(आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न तथा धन पैसा धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । साथै कामको शिलसीलामा परीवारबाट टाढा भएका व्यक्तिहरुपनि यहि पर्वको अवसरमा फर्कने हुनाले पनि सामाजीक रुपमा महत्वपुर्ण भुमिका यस पर्वले खेलीरहेको पाइन्छ ।

यम पञ्चक
१. काग तिहार
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । उक्त दिन विहानै कागको लागी मिठो मिठो खानेकुरा सधै जसो काग आउने ठाउमा राखी मनाउने गरीन्छ ।

२. कुकुर तिहार
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना खुवाई, पुजा गरी माला लगाइदिने चलन छ ।

३. गाई तिहार र लक्ष्मी पुजा
गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर कोठा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । सुखसम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा ¨तमसोमा ज्योतिर्गमय¨ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ ।

४. गोरु तिहार अथवा गोवर्धन पुजा
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् ।

५. भाइ तिहार
भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति वर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ । नेपालमा दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गरेर तिहार मनाउने चलन वषौ देखी चलीआएको पाइन्छ । तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन् (पहेंलो, नीलो, सुन्तला, सेतो, हरियो, रातो र कालो) । सात रङ्गको टीकालाई सप्तरङ्गी टिका भनिन्छ ।

देउसी भैलो
अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुसीयाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घरघर, गल्ली गल्लीमा ¨देव श्रीराम¨ (हाम्रा राम देउता हुन) को नारा लाउँदै घुमेकाथिए । देव श्रीरामबाट विकृत हुँदै ¨देउसिरी राम, देउसिरे, देउसी¨ भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछिपछि देउसिरे भन्ने हुन्छन्। देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ । बताइन्छ एक जना बलिभन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैन थिए । यस पुण्यको प्रतापले स्वर्गादि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए । त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् । त्यस्तै गरी आजकलको तिहारमा बजार क्षेत्र तथा अलि विकसीत गाउमा पनि विभीन्न प्रकारका विद्युतिय झिलीमीली बत्तीहरुको प्रयोग गरी घर, टोल झिलीमीली बनाउने चलन बढीरहेको छ ।

नेपाल बाहिर तिहार
विशेषगरी हिन्दु धर्मालम्बीहरूले तिहार धुमधामका साथ मनाउँछन् । हिन्दु धर्मालम्बीहरूको बाहुल्य भएका कारण नेपाल र भारतमा तिहार बडो तामझामका साथ मनाइन्छ । तर तिहार मनाउने चलन यी दुई देशमा मात्रै सीमित छैन । पछिल्ला वर्षहरूमा नेपाल र भारतबाट अन्य देशमा बसोबास गर्नेको संख्या बढेसँगै विभिन्न देशहरूमा तिहार मनाइन्छ ।

Latest Posts from FN News

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ