२३ अगष्ट,२०२२
जापान देशको नाम सुन्दा साथ हामी जस्तो विकासोन्मुख देशमा जन्म लिई अझै भन्नु पर्दा मध्यम वर्गीय परिवारमा बाल्यकाल काटेको मानिसले सुख सयलको जिन्दगी, आरामदायि सेवा सुवीधा, मनग्य पैसा यि र यस्तै खालका कुराहरु भन्दा अरुको कल्पना नेपालमा हुदा नगरेको म मात्र त पक्कै पनि होइन । साथै जापान गए पछि यस्तो गर्छु र उस्तो गर्छु भन्दै मनमा सपना बुन्दै जापानको लागी पासपोर्ट बनाउने र अन्य कागजातको तयारी पनि राम्रै गरीयो । नेपालमा हुदै गर्दा आफु भन्दा पहिला जापान आएका साथीभाई, इष्ठमीत्रहरुले सामाजीक संजालमा राखेका तस्वीर, नेपालको कन्सल्टेन्सीको सरबाट सुनेको राम्रा कुराहरु, इन्टरनेट साइटमा पाइने सामाग्रीहरुले गर्दा अझै जापान आउनका लागी तत्पर भएका हामीहरु ।
तर, जुन दिन जापान लागी भनेर विमानस्थल पुगे पछि प्राण भन्दा प्यारो परीवारजनलाई र जहाज चढेपछि प्यारो मातृभुमीलाई एक हातले आसुका धारा पुच्छै बिदाईका हात हल्लाएपछि जती परीवारजनबाट टाढा हुदै गयो त्यती नै दुखका दिन पनि थपीदै गए । त्यसरी नै सुरु हुने गर्दछ म जस्तै मध्यम वर्गीय र विपन्न वर्गीय परीवारमा जन्म लिएका हरेक नेपाली युवाको भविष्यको कथा ।
त्यही माथी नेपालमा केही व्यवसाय गर्छु भन्दा विश्वास नगर्ने परीवार र ऋण पनि नपत्याउने आफन्त तर जापान जान्छु भन्दा जति पनि ऋण दिन सक्नेले दिएको पीडा पनि सबैको एकै हो । त्यस्तै जुन दिन जापानको विमान स्थलमा विमान अवतरण भइ बाहीर निस्कीन्छ तब सुरु हुन्छ फरक भाषा, ठाँउ, रितीरीवाज, खानपान जस्ता कुराले गर्दा जापान आएको १ हप्तामै घर फर्कन मन नलागेको कहाँ होर । जुन कुरा नेपालमा छँदा सोचेको थिए त्यो कुरा कुनै पनि पुरा गर्न एकदमै कठिन रहेको भान आएको १ हप्तामा भै सकेको थियो । तर पनि साहुको ऋण, परीवारको आशा, भविष्यको चिन्ताले गर्दा जे जस्ता कठिनाई आइ परेपनि मेहेनत गरेर अगाडी बढ्छु भनी अठोट गरेर अगाडी बढेको छु ।
कहिले काहीँ त सोच्ने गर्दछु की यहाँ जती मेहेनत आफ्नै देशमा गर्दा कसो प्रगती नहोला । जब फुर्सदका दिनमा जापान आउन भन्दा पहिला सोचेको जापान र अहिले आफुले भोग्दै गरेको जापानमा तुलना गरेर हेर्छु हालको दुख सम्झेर एकान्तमा धेरै पटक रोएको छु । भोगेको जापानमा आफ्नो हिसाबले उठ्ने भन्ने हुदैन मोवाइलको आलारामको हिसाबले उठी घडी सँगै हिड्नु पर्ने अवस्था, थोरै मात्र ढिला भए बस, टेन छुटेर काममा ढीला पुगी माथिको मानिसबाट नबुझिने भाषामा खाइने गाली, न दिन न रात गरी गरीने काम, जस्ता कुराले मलाई मेहेनत भनेको के हो भन्ने कुरा त सीकायो तर पनि परीवारका लागी समय, आफ्नो लागी समय, रमाइलो, जस्ता कुराहरु विर्साइदीयो ।
जुन कुरा म नेपालमा हुदा सोच्ने गरेको थिए त्यही कुरा अहिले नेपालमा भएका साथीहरुले मलाइ भन्दै जापान गएर पैसा कमाए पछि हामीलाई विर्सीस हैन भन्ने बचनले मलाई सानोमा औसेलु खादा घोच्ने काँडा जसरी मनमा घोचेको पीडा कस्लाइ भन्न सक्छु र । नमरी स्वर्ग देखिदैन भने जस्तै सोचेको जापान र हकीकतको जापान आकास पातालको फरक छ । आजकल मलाई म पनि जापान आउन पर्यो कस्तो छ भनेर फोन दिनहु जसो आउने गर्दछ पहिला त जापानमा गाह्रो छ न आउ भनेर भन्ने गरेको थिए तर आफु गएर प्रगती गर्यो हामीलाई नआइजा भन्छ भन्ने मान्छे धेरै भएकोले आजकल त दुख धेरै छ गर्न सक्ने भए आउ भन्ने गरेको छु ।
हुन त देश छाडेर परदेश हिडे पछि जुन देश गए पनि समस्या त्यही हो तर अन्य देशमा हामीहरुले बच्चा बेलाबाट पढ्दै आएको अंग्रेजी पनि प्रयोग हुने हुनाले जिवन यापन सजीलो छ तर जापानमा जापानीज भाषा भन्दा प्रयोग नहुने हुनाले समस्याहरु धेरै छन । त्यसलै अन्य देशमा भन्दा जापानमा मेहेनत एकदमै बढी गर्नुपर्ने हुन्छ । हामी भन्दा पहिला जापानमा आएर लामो समय बसी व्यवसाय गरी राम्रो प्रगती गर्नुभएका अग्रजहरु पनि धेरै हुनुहुन्छ । त्यसैले हामीहरुले पनि प्रगती गर्नुभएको अग्रजहरुको सीको गर्दै मेहेनत गर्ने हो भने जापानमा भविष्य राम्रो बनाउन सकिने हुनाले सोचेको भन्दा धेरै मेहेनत गर्नु पर्ने देखीन्छ ।