स्याङजा, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले वामपन्थीले जिते कम्युनिस्ट अधिनायकवाद ल्याउने हौवा फिँजाएको बताउनुभएको छ । उहाँले कांग्रेसलाई जनताले पत्याउने खालका आरोप लगाउन सुझाव समेत दिनुभएको छ ।

स्याङजाको पुतलीबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो बेला पनि कम्युनिस्टले जिते बुढाबुढीलाई गोली ठोकेर मार्छ भनेकै हुन् । हामीले सरकार बनाएर बृद्धभत्ता दियौं । राष्ट्रको ढुकुटी रित्यायो भनेर कांग्रेसले नै बिरोध गर्‍यो । मैले २ हजार बनाइदिएँ अब चुनाव जितेपछि बृद्धभत्ता ५ हजार दिने हो । कांग्रेसले टाउको फुटाए पनि बृद्धभत्ता ५ हजार पुग्छ ।

वाम गठबन्धनले ल्याउन खोजेको कम्युनिस्ट सत्ता भएको पनि ओलीले बताउनुभएको छ । ‘हो हामीले ल्याउन खोजेको कम्युनिस्ट सत्ता नै हो । अब मंसिर २१ पनि देशमा कम्युनिस्ट सरकार बन्छ’ उहाँले भन्नुभयो, ‘कांग्रेसको लुटतन्त्र रोक्न कम्युनिस्ट सत्ता चाहिएकाले एमाले र माओवादी मिल्नुपरेको हो । ओलीले समय अभावका कारण तत्काल दुई पार्टीबीच एकीकरण हुन नसके पनि चुनावपछि एउटै कम्युनिस्ट पार्टी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी एउटै सूर्य चिन्हबाट चुनाव लड्न सहमत भएका हौं तर, प्राविधिक कारणले सम्भव भएन । अब केही समयमै एउटै पार्टी हुन्छ, त्यसैले यो ऊ नभनी मत दिनुस् ।

क्षेत्र नम्बर १ मा नारायण मरासिनी र २ मा पद्मा अर्यालसहित वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै एमाले अध्यक्ष ओलीले आँधीखोलामा हाइड्याम बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आँधीखोलामा हाइड्याम हामी बनाउछौं । पोखरासम्म जाने सुरुङमार्ग निर्माण गर्छौं । वालिङमा प्याराग्लाइडिङ चलाउछौं । भिरकोटको पर्यटन विकास पनि हामी गर्छौं । एमाले अध्यक्ष ओलीले बहुमतको सरकार निर्माणमा सघाउन आह्वान गरनुभयो।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *