Home » समाचार » लालपुर्जा दिने नेता नभेटेसम्म भोट नहाल्ने : खोर्केखोलाबासिन्दा

लालपुर्जा दिने नेता नभेटेसम्म भोट नहाल्ने : खोर्केखोलाबासिन्दा

वीरेन्द्रनगर, २८ कार्तिक । वीरेन्द्रनगर नगरपालिका–४ स्थित खोर्केखोलाका ६० वर्षीय मानबहादुर शाहीको ४५ वर्षदेखिको संघर्षको एउटै माग छ, लालपुर्जा । उहाँको परिवार २०२८ सालमा जाजरकोटको मचकोटबाट सुर्खेत झरेर खोर्केखोलाछेउ बस्दै आएको छ । पञ्चायतदेखि बहुदल हुँदै लोकतन्त्र र गणतन्त्र आइसक्दा पनि शाही परिवारले भोगचलन गर्दै आएको १० धुर जग्गाको लालपुर्जा पाएन ।

‘नेताको जात सबै एउटै रहेछ,’ शाहीले भन्नुभयो, ‘लालपुर्जा बनाइदिन्छौं भनेर भोट फुत्काउने । जितेपछि फर्केर नआउने । पत्याउनै गाह्रो ।’ खोर्केखोला बस्तीमा १ सय ९५ परिवारको बसोबास छ । अधिकांश विपन्न र दलित समुदायका । प्राय: सबै जना थोरै ऐलानी जग्गामा कच्ची घर बनाएर बसेका छन् । खेती गर्ने जमिन छैन । त्यसैले यो बस्तीका युवा घरबाट रोजगारी खोज्दै भारत जाने गरेका छन् । ‘चाडबाड र ज्यालामजदुरी पाउने महिना मात्र गाउँमा युवा पाइन्छन्,’ झन्डै आठ वर्ष भारत बसेर भर्खरै गाउँ फर्किएकी ३५ वर्षीया विमला सुनारले भन्नुभयो, ‘यतिका वर्ष पनि हाम्रो गरिबी जहाँको त्यहीं छ । सरकारले एउटा लालपुर्जासमेत दिएन ।

लोकतान्त्रिक होस् वा प्रदेश ६ को आन्दोलन, खोर्केखोलाका बासिन्दा सधैं अग्रमोर्चामा देखिए । दुई वर्षअघि सुदूरपश्चिमबाट भेरी–कर्णाली क्षेत्र छुट्याएर भिन्नै प्रदेश बनाउन गरिएको आन्दोलनमा तीन जनाको ज्यान गयो । तीमध्ये गोपालसिंह रजवार र टीकाराम गौतम खोर्केखोलाकै हुन् । ‘व्यवस्था फेरिएपछि राम्रो होला भनेर जुनसुकै आन्दोलनमा हामी गएका छौं,’ रजवारकी बुहारी मञ्जुले भन्नुभयो, ‘ज्यानै दिए पनि लालपुर्जा भने पाइएन ।

मंसिर २१ गते हुने निर्वाचनका लागि उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् । खोर्केखोला बस्तीमा पनि राजनीतिक चहलपहल सुरु भइसकेको छ । झन्डै ४ सय मतदाता रहेको दलित बस्तीलाई मुख्य प्रतिस्पर्धी दलहरूले आफ्नो भोटबैंक बनाउन चाहेका छन् । स्थानीयले भने यसपटक लालपुर्जा ग्यारेन्टी गर्ने पार्टी र उम्मेदवारलाई मात्र भोट दिने अड्डी कसेका छन् । ‘विकास गर्दै गरौंला । पहिले बस्दै आएको जग्गा त आफ्नो नाममा गराइदेऊ भन्दा पनि नेताहरूले सुनेनन्,’ ३४ वर्षीया डम्बरी नेपालीले भन्नुभयो, ‘नेताहरूलाई सधैं ढाँट्ने बानी परेको छ । यसपटक भरपर्दो नेता नभेटेसम्म भोट हालिन्न ।’

 

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...