ताप्लेजुङ, २८ कात्तिक । सिङ्गो मुलुक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिइरहेका वेला ताप्लेजुङका मतदाता भने अलैंची बगानमा व्यस्त छन् । जिल्लाका उम्मेदवारहरु बगानमै पुगेर उनीहरुसँग भोट मागिररहेका भेटिन्छन् । गाउँमा आयोजना हुने चुनावीसभामा सहभागी निक्कै कम हुने भएपछि उम्मेदवारहरु धान खेत र अलैंची बगानमै पुगेर आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् । मतदाताले भने उम्मेदवारका ठूला योजनाभन्दा पनि अलैंचीको भाउ बढाइदिन माग गरेका छन् ।
जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैंचीको भविष्य र मुल्य वृद्धिका लागि योजना र लक्ष्य बनाउनुपर्ने स्थानीयले माग राखेका छन् ‘चुनावको बेला भोट माग्न आउँदा ठूला सपना देखाउँछन्’, फुङ्लिङ नगरपालिकाकी सरिता लिम्बु भनन्नुहुन्छ हामीलाई ठूलो कुरा केही चाहिँदैन, अलैंचीको भाउ बढाउन पहल गरिदिनु पर्यो ।
दुई वर्ष अघिसम्म प्रति मन १ लाख १० हजार रुपैयाँसम्म अलैंची बेचेका कृषकले भाउ बढ्ने आशमा धान खेती हुने जग्गा नै मासेर अलैंची खेती लगाएका थिए । तर, एक वर्ष अघिबाट अलैंचीको भाउ ओरालो लागेपछि ताप्लेजुङका कृषक चिन्तित बनेका छन् । भाउ बढ्ने आसामा एक वर्षदेखि थन्क्याएको अलैंची पनि बिक्री नगरी राख्दा अझै भाउ घटेर २५ हजारमा झर्दा पनि सरकारले मुल्य बृद्धिमा चासो नदिँदा बिहान बेलुकाको छाक टानैनै समस्या हुन लागेको उनीहरुको गुनासोे छ । ‘अलैंचीलाई भनेको समयमा सिचाई गर्न पाइँदैन, विक्री गर्दा मुल्य छैन, अब कुरा गर्ने नेता होइन, हामिलाई काम गर्ने चहियो’, लिम्बुले भन्नुभयो । ताप्लेजुङको फक्ताङ्लुङ गाविसमा रहेको साविकको ओलाङ्चुङगोला गाविस बाहेक सबै स्थानमा अलैंची खेती हुने गरेको छ ।