काठमाडौं,२४ कार्तिक । अब क्रिकेट खेल्न कीर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट मैदान मात्र पुग्नु पर्दैन । काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ ।
लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि शनिबार राष्ट्रिय खेलाडी र पूर्व खेलाडीबिच खेल आयोजना गरिएको नेपाल क्रिकेट संघका कार्यसञ्चालन अधिकृत छुम्वी लामाले जानकारी दिए । १३ वर्षअघि निर्माण सुरु भएको मैदान विभिन्न कारणले पूरा हुन सकेको थिएन ।
यसैबीच, विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स युएईविरुद्ध हुने अन्तिम चरणको खेलका लागि नेपाली क्रिकेट टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा अभ्यास गरेका छन् । यो मैदान तयार भएपछि क्रिकेट अभ्यासका निम्ति सहज बन्ने क्रिकेटरले बताएका छन् ।