पोखरा, २३ कार्तिक । राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को प्रचार प्रचार तथा व्यवस्थापनको लागि पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल राजधानी प्रस्थान गरेको छ । संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा काठमाण्डौं गएको टोलीमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव दामु अधिकारी, कोषाध्यक्ष पवनकुमार प्रजापति र उपमहासचिव अर्जुन पोखरेल सहभागी हुनुहुन्छ । राजधानी बसाईको क्रममा प्रतिनिधीमण्डलले आउँदो पुस २७ गतेदेखि माघ ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने व्यापार मेलाको प्रचार प्रसार गर्नुका साथै प्रायोजन एवं कलाकार व्यवस्थापनको पहल गर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य समेत रहेको पोखरा उद्योग वाणिज्य संघले आर्थिक उत्थानको लागि नेपालमै पहिलो पटक मेला महोत्सवको आयोजना गरेको थियो । त्यही परम्परालाई निरन्तरता दिँदै यो पटकको मेलालाई अझ भव्य र उत्कृष्ट बनाउने लक्ष्य लिइएको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो ।
‘हाम्रो मेला उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेला गराउने तथा उद्यमशीलता अभिवृद्धिको लागि हो,’अध्यक्ष पालिखेले भन्नुभयो,‘समग्र पोखराको आर्थिक सम्वृद्धिको लागि आयोजित मेलाप्रति उद्योगी÷व्यवसायीले देखाउनुभएको सदासयताले हामी उत्साहित बनेका छौँ ।’यता मेलाको तयारीमा रहेको पोखरा उद्योग वाणिज्य संघले मेलाको लागि स्टल बुकिङ समेत खुल्ला भएको जनाएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *