सिन्धुपाल्चोक, २१ कात्तिक । बतासे–२ की ७८ वर्षीया मनकुमारी विक बेसहारा हुनुहुन्छ साथ त थिएन नै प्रकृतिले पनि ठग्यो । विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर उनले घर ठड्याउने आश अझै मारनुभएको छैन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारलाई आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा भोट दिने उहाँको योजना छ । ‘घर बनाइदिए हुने थियो, बरु खाना मागेर पनि खाने थिएँ, चार पैसा छैन, भएको खेतीबाट जेनतेन छ महिना खान पुग्छ, बाँकी गाउँमै सामान्य काम गरेर खान्छु’, उहाँले भन्नुभयो । भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई विकासभन्दा पनि पहिला भत्केका घर बनाइदिने उम्मेदवारलाई जिताउने मनसाय छ ।

नौबिसे–२ का ८१ वर्षीय भरतराज भण्डारी गाउँमा राम्रो विकास गर्नेलाई मतदान दिने बताउउनुहुन्छ । कांग्रेसका पुराना मतदाता रहेका भण्डारी यसपटक मत कसलाई दिने भन्ने अन्योलमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जित्ने उम्मेदवारबाट ज्येष्ठ नागरिकलाई भत्ता बढाइदिने र रोगब्याधीको औषधि उपचार गर्नेलाई मत दिन्छु । बतासे–२ देवीडाँडाका मानबहादुर विक राम्रो उम्मेदवारले जितेमा गाउँमा विकास छाउने अभिलाषामा छन् । यता जलवीरे–२ का बाबुराम सापकोटाको अरुको भन्दा फरक मत छ । हिन्दू धर्मको संरक्षण गर्ने दलले जिते हुनेथियो भन्ने उहाँको आशा छ ।

जुगल गाउँपालिका बराम्चे–५ ढाँडेमा नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिले आइतबार आयोजना गरेको चुनावी सभामा भेटिएका माथिका प्रतिनिधि जस्तै धेरैको मत विकासप्रेमी उम्मेदवारलाई दिने योजना छ । नेपाली कांग्रेसका स्थानीय नेता रेशम गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माङ्माया स्याङ्बोले जसले जिते पनि पहिला भूकम्पबाट भत्किएका घर निर्माण तथा जिल्लाको सडक, खानेपानी र जडीबुटीको व्यवस्थापनसँगै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *