पोखरा, २१ कार्तिक । कला, साहित्य र सङ्गीतको ऊर्वरभूमि पोखरामा बन्न लागेको नाटक घर पोखरा थियटरको निर्माण कार्य सम्पन्न भएको छ । पोखराको गैह्रापाटनमा डेढ रोपनी क्षेत्रफलको जग्गामा बनेको थियटर करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण भएको अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र भित्री भागमा प्रकाश व्यवस्थापनलगायत केही काम जारी रहेको छ । गैर नाफामूलक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको थियटरमा परिवर्तनसँगै सञ्चारकर्मी दिलु गुरुङ र समाजसेवी शङ्करनाथ कोइरालाले लगानीको चाँजोपाँजो मिलाउनुभएको छ ।

यसै बीच, थियटरले पहिलो समूहको अभिनय कार्यशालाका लागि भर्ना लिन सुरु गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने ३ महिने कार्यशालामा मण्डला थियटर काठमाडौँका निर्देशक तथा कलाकार राजन खतिवडाले सहजीकरण गर्नुहुने र पोखराका अन्य रङ्गकर्मीहरुले पनि कक्षा लिने बताइएको छ । नवनिर्मित पोखरा थियटरमै सञ्चालन हुने कार्यशालामा आधुनिक शैलीमा अभिनयका विभिन्न आयामहरुमा प्रशिक्षण दिइने बताइएको छ । सोही कार्यशालाबाट प्रशिक्षित कलाकारहरु र अन्य स्थापित कलाकारहरुको संयुक्त संलग्नतामा थियटरले पहिलो नाटक मञ्चन गर्ने लक्ष्य लिएको सञ्चालक दिलु गुरुङले जानकारी दिनुभयो ।

‘पोखरा भन्नेबित्तिकै कला र साहित्यका लागि ऊर्वरभूमि भन्ने धेरै नेपालीहरुले सम्झने गर्छन्’ अध्यक्ष परिवर्तनले भन्नुभयो, ‘यत्रो वाङ्मयिक विरासत बोकेको पोखरामा एउटा थियटर पनि नहुनुले यहाँको प्रतिष्ठालाई जोगाउनै कठिन भयो ।’ पैसा भएर भन्दा पनि रुचिको क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोच लिएर अघि बढेको उहाँको भनाइ छ । ‘नाटक मञ्चनका लागि पनि पोखरा उत्तिकै महत्त्वपूर्ण थलो हो’ उहाँले थप्नुभयो, ‘यहाँ राष्ट्रिय नाटक महोत्सव पनि भए तर पोखरा उद्योग वाणिज्य सङ्घ र पोखरा सभागृहको हलमा गर्दा नाटकका कतिपय प्राविधिक कुराहरु मिलाउन कठिन हुने गरेको छ, अब भने त्यो समस्याबाट पोखरा मुक्त हुने छ ।

पोखराको नाट्य विरासतलाई जोगाउने गरी अग्रज र नयाँ रङ्गकर्मीहरुको साझा थलोका रुपमा पोखरा थियटरलाई विकास गर्ने सपना परिवर्तनले सुनाउनुभयो । ‘निष्क्रिय रहेका पुराना रङ्गकर्मीहरुलाई पनि पुनःरागमन गराउने र नयाँलाई पनि प्लेटफर्म प्रदान गर्ने हाम्रो सोच रहेको छ’ उहाँले भन्नुभयो । थियटर नाटक मञ्चनका अलावा बहुद्देश्यीय प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने गरी तयार पारिएको निर्माण पक्षको भनाइ छ । पोखरामा लामो समयदेखि विभिन्न नाट्य संस्थाहरुको स्थापना हुनुका साथै नाटक मञ्चन हुँदै आए पनि थियटरको अभावमा मञ्चन कार्य जटिल बन्दै आएको थियो । पोखरा थियटरको निर्माणसँगै अब भने पोखरेलीले थियटरको नाटक हेरेरै वास्तविक नाटकको स्वाद लिन पाउने थियटर समूहको दाबी छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *