तेह्रथुम, २१ कात्तिक । आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् । मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ । उनीहरु प्रचारप्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन् । जिल्लाका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका छन् । तर गाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरेर फलाएको धान बाली भित्र्याउने चटारो छ । यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको आठराई गाउँपालिका–४, इवाका किसान डिल्लीराम विकले बताउनुभयो ।

“चुनाव आयो रे, नेताहरु गाउँघरमा डुल्न थालिसके”, उहाँ भन्नुहुन्छ, “हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, उनीहरुलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो ।” प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि जिल्लामा २१ मंसिरमा चुनाव हुँदैछ । मतदान गर्ने दिन आउन अब ३० दिन मात्रै बाँकी छ । तर गाउँका किसानलाई चुनावले छोएको छैन । कतिपय किसान खेती सम्हाल्नमै व्यस्त रहे पनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन् । यो याममा जिल्लाका किसान ‘खोल्सीको कालो सुन’ नामले परिचित अलैँची बाली थन्काउन, धान बाली भित्र्याउन र जौ, गहुँ छर्ने, आलु लगाउने, विभिन्न तरकारी लगाउने काममा व्यस्त छन् । चुनावअघि नै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन् । “पार्टीका पछि लागे पेट केले भर्ने ?” फेदाप गाउँपालिका–२ की मालती जोगी भने, “मानो रोपेर मुरी भित्र्याउने यो बेला हामीलाई चुनावभन्दा खेतीपाती नै प्यारो छ ।”

किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने यो बेला अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । पार्टीहरूले कृषिप्रधान देशको नामअनुसार किसानका हितमा काम नगरेको उनीहरूको गुनासो छ । त्यसो त दलहरुले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीबारे प्रचारप्रसार गर्दै मत माग्न थालिसकेका छन् । दलहरुले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचारप्रसार समितिहरु निर्माण गरेर धमाधम चुनाव प्रचारप्रसार थालेका छन् । कतिपय कृषकलाई चुनाव के हो ? भन्ने कुरा नै जानकारी छैन । निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमको तयारी भए पनि शुरु भइसकेको छैन । एक महिनामात्र बाँकी रहँदा पनि निर्वाचन शिक्षा कार्यक्रम शुरु नभएकाले त्यो प्रभावकारी नहुने निश्चित छ । नमूना मतपत्रसमेत अझै नआउँदा गाउँघरको चुनावी सभामा नमूना मतपत्र लैजान नपाइएको उम्मेदवारहरूले बताएका छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *