काठमाडौं, २१ कात्तिक  ।  आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई क्षेत्रीयस्तरको प्रशिक्षण सुरु भएको छ । क्षेत्रीयस्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यहाँ खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिने छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आज आयोजित ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री तथा वस्तु विनिमयको साधन जस्तो नबनाउन राजनीतिक दलहरुसँग आग्रह गरनुभयो । जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व हो भन्दै प्रमुख आयुक्त यादवले जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

टे्रड युनियनको दबाबमा निर्वाचनमा कसैलाई पनि नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिँदै डा. यादवले निर्वाचनमा गलत कार्य गर्ने जो सुकैलाई पनि नछाड्ने बताउनुभयो। शहर, बजार र सार्वजनिक स्थल फोहोर नगर्न उम्मेदवारहरूलाई आग्रह गर्दै उहाँले सुरक्षाकर्मीलाई पनि टुलुटुलु हेरेर नबस्न निर्देशन दिनुभयो । प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीहरुलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको बताउनुभयो ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व, संकल्प र लक्ष्य भएकाले निर्वाचन अभियानलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। दुवै चरणको निर्वाचनमा करीव ६० हजार जनशक्तिलाई प्रशिक्षण दिइनेछ । प्रवक्ता ढकालले मतदान केन्द्रको बनावट, मतदातालाई दिनुपर्ने सुविधा तथा फरक क्षमता भएका मतदातालाई पुर्‍याउनुपर्ने सेवाका विषयमा तल्लो तहसम्म राम्रो सञ्चार प्रवाह गर्न प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *