डडेलधुरा,१९ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्दैहुनुहुन्छ, र, बहालवाला प्रधानमन्त्रीलाई लाई चुनाव हराउन कस्सिएर लग्नुभएको  छ वाम गठबन्धनका उम्मेदवार एवं माओवादीका युवा नेता खगराज भट्ट । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचनमा पराजय भोगनुभयो भने यसबाट नेपाली कांग्रेसको मात्रै होइन, देशकै राजनीतिको शक्ति सन्तुलनमा परिवर्तन हुनेछ । तर, अझ योभन्दा बढी शेरबहादुर देउवाले डडेलधुरामा चुनाव हार्नु भनेको उहाँको विजय यात्राको निरन्तरताको क्रमभंगता पनि हुनेछ ।

आखिर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा के कस्तो ‘रिस्क जोन’ मा हुनुहुन्छ ? बहुदलीय व्यवस्था पुर्नस्थापनायता संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि गृहजिल्ला डडेल्धुराबाटै चुनाव लड्दैहुनुहुन्छ । उहाँ जिल्लाबाट अहिलेसम्म चुनाव हारनुभएको छैन् । ०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट चुनाव जित्दै आउनुभएको छ । देउवाले डडेल्धुराबाट आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै आउनुभएको छ । उहाँ हाल चौथोपटक मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । र प्रधानमन्त्री पदबाटै चुनाव लडिरहहनुभएको  छ । अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ । ०४८ देखि ०७० सालसम्म भएका ५ वटा निर्वाचनमा देउवाको सिंहदरबार यात्रालाई कसैले रोक्न सकेन ।

०५१ सालको मध्यावधि चुनावका बेला कांग्रेस दोस्रो दलमा खुम्चिँदा होस् वा ०६४ मा देशैभर माओवादीको चर्चा हुँदा पनि देउवाको चुनावी भेललाई रोक्न कुनै दल र उम्मेदवारहरु सफल भएनन् । ०४८, २०५१ र ०५६ को प्रतिनिधिसभा एवं ०६४ र ०७० को संविधानसभा निर्वाचनमा चुनिँदै देउवाले ०४८ यताका सबै निर्वाचन जित्ने नेताका रुपमा रेकर्ड कायम राख्न सफल हुनुभएको  छ । यसपटक पनि देउवाले डडेल्धुराबाट विगतमा जसरी नै सहजै चुनाव जित्ने अनुमान गरिएको थियो । तर, स्थानीय तह निर्वाचनकै आधारमा मतदान हुने भए एमाले र माओवादीले चुनावी तालमेलपछि देउवाको स्थिति पहिलेजस्तो सहज छैन ।

शेरबहादुर देउवा आफैं सत्तामा भएकाले यतिबेला डडेल्धुराको चुनाव उहाँका लागि अनुकूल छ भने वाम गठबन्धनका लागि चुनौतीपूर्ण छ । प्रधानमन्त्रीले आफू चुनाव जित्न राज्यको पुरै शक्ति प्रयोग गर्न सक्ने विपक्षीहरुलाई डर छ, चाहे त्यो चुनावी प्रचार प्रसारमा होस् या बाम गठबन्धनलाई बिर्गान ‘मास्टर गेम’ प्लान गरेर होस् ।  यही सन्दर्भमा डडेल्धुराका एक व्यापारी पुस्करसिंह ठकुरी भन्छन्– ‘प्रधानमन्त्रीको आफ्नै प्रभाव हुन्छ र मतदाताले यो कुरालाई नर्बिसेर यिनी त प्रधानमन्त्री हुन्, केही गर्छन् कि भनेर भोट खसाल्न सक्छन् ।’

प्रधानमन्त्री देउवाले पञ्चायतकालमा विभिन्न समयमा जेल जीवन, स्वतन्त्रताको लडाइ अनि डडेल्धुराको विकासका लागि, विद्यालय, स्वास्थ्यचौकी, टेलीफोन, सडकआदिमा काम गरेका छन् । राजमार्ग, खानेपानी र विद्युत विकासमा थुप्रै कामका लागि पहल गरेको कांग्रेस कार्यकर्ताको भनाइ छ । यससँगै मुलुककै राजनीतिको उच्च तहमा पुगेका कारण देउवाको व्यक्तित्वले समेत उहाँलाई चुनाव जित्न अरु नेताहरुलाई भन्दा सजिलो छ ।

 

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *