गोरखा, १८ कात्तिक। गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारीस्थित फिनामटारमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका ४५ वर्षीय सुकबहादुर तामाङ र सिरानचोक गाउँपालिका–५ डिस्काका १३ वर्षीय अमोल बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिकको घटनास्थलमै ज्यान गएको थियो भने तामाङको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा ज्यान गएको डिएसपी भेषराज रिजालले बताउनुभयो ।

त्यस्तै घाइते अजिरकोट गाउँपालिका–३ भच्चेकका ३५ वर्षीय गोरे गुरुङलाई जिल्ला अस्पताल गोरखामा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनको भरतपुर अस्पताल रिफर गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो । गुरुङको पनि अवस्था चिन्ताजनक रहेको रिजालले बताउनुभयो । भच्चेकबाट भालुस्वाँरा तर्फ आउँदै गरेको ग १ त ४५४३ नम्वरको ट्याक्टर शुक्रबार अनियन्त्रित भइ सडकबाट दुई सय मिटर तल खसेको थियो ।

शुक्रबार नै गोरखा नगरपालिका–११ सिर्दि टोलमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट इँट्टा बोकेर गोरखाको छेवेटार आउँदै गरेको ना ५ ख १४६२ नम्वरको ट्रक सडक छेउको जमिन भासिएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते चालक र सहचालकलाई उपचारका लागि आँबुखैरेनी पठाइएको डिएसपी रिजालले जानकारी दिनुभयो । ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *