चितवन, १७ कात्तिक । बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्जस्थित वन्यजन्तुको बासस्थान क्षेत्रमा थुपारेको फोहर आजदेखि उठाउन थालिएको छ । क्षेत्रीय होटल संघको संयोजन तथा यहाँका एकदर्जन बढी संघ संस्थाको आयोजनामा आजदेखि फोहर उठाउन थालिएको हो । गत साउन २८ गते आएको बाढीले मकवानपुर जिल्लादेखिका फोहर बगाएर चितवन राष्ट्रिय निकुञ्जमा थुपार्दा वन्यजन्तुलाई असर पार्ने देखिएकाले फोहर उठाउन थालिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

सिसा तथा प्लास्टिकजन्य फोहर अत्यधिक रहेकाले वन्यजन्तुको आहारा तथा बासस्थानमा नै असर गरिरहेको छ । त्यसैले अहिले यहाँका संघ संस्था मिलेर आजदेखि १० दिने अभियान थालिएको हो । निकुञ्जको पूर्वी क्षेत्रबाट आजदेखि वृहत सरसफाइ तथा फोहर व्यवस्थापन अभियान शुरु गरिएको बताउँदै कार्यक्रमका संयोजक जीतु तामाङले निकुञ्जको अन्य क्षेत्रमा समेत अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

सिसाजन्य फोहर, प्लास्टिकका बोतल, जुत्ता, चप्पल, लत्ताकपडालगायत मानव उत्पन्न फोहर भेटिएको छ । उक्त अभियानमा क्षेत्रीय होटल संघ र चितवन निकुञ्जसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष, रेवान सौराहा, नेचर गाइड एशोसिएसन, बाघमारा वन, युनाइटेड हात्ती सहकारी, बाघ संरक्षण समिति, ग्रिन सोसाइटी, साना पर्यटन व्यवसायी, सपना भिलेज, वर्ड एजुकेशन सोसाइटीलगायत संघ संस्थाको सहभागिता छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *