काठमाडौं,१६ कार्तिक । सर्वोच्च अदालतले मंसिर १० र २१ को चुनाव नरोकिने फैसला गरेको छ । सर्वोच्चले मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको चुनाव रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । चुनाव सार्ने उद्देश्यसहित विभिन्न माग राखेर परेका छुट्टा छुट्टै ५ वटा मुद्दामा बुधबार भएको एकीकृत सुनुवाइपछि सर्वोच्च अदालतले देश चुनावमा लागि सकेको भन्दै चुनाव रोक्ने आदेश जारी गर्न अस्वीकार गरेको हो ।

सुनीलकुमार पटेल, भरतकुमार मैनाली र सीताराम अग्रवाल लगायतले छुट्टा छुट्टै हालेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले जारी गरेको आदेशमा सानातिना कानुनी र व्यावहारिक कारण देखाई चुनाव रोकिने परिस्थिति बन्नु लोकतन्त्रको हितमा नहुने भनिएको छ । आदेशमा चुनावसम्बन्धी संवैधानिक, कानुनी व्यवस्था, निर्वाचन प्रणाली र प्रक्रिया सुधार गर्ने बारेमा यी मुद्दाको अन्तिम सुनुवाइ हुँदा निरुपण हुने उल्लेख गरिएको छ । अदालतलाई प्रयोग गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको भनिए पनि आज सर्वोच्च अदालतको आजको आदेशपछि चुनाव सम्बन्धी अदालती र कानुनी जटिलता टुंगिएको छ ।

बुधबार नै विशेष पत्रकार सम्मेलन गरी निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले चुनाव समयमै गर्न सरकार र सम्बद्ध सबै पक्षबाट आयोगलाई सहयोग भइरहेको बताउनुभयो । चुनाव रोकिने द्विविधामा नपर्न सबैलाई यादवले आग्रह पनि गर्नुभएको छ । निजामती कर्मचारी र सुरक्षाकर्मी लगायतले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने, समानुपातिकतर्फको मतपत्रमा धेरै चुनाव चिन्ह राखिएकोमा त्यो खारेज हुनु पर्ने लगायतका माग राखेर सर्वोच्चमा रिट दायर भएका थिए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *