सिमरा,१५ कात्तिक। सामान आयातमा प्रयोग हुने भारतीय मालवाहक सवारी साधनको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायीहरु संकटमा पर्न थालेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकमै ल्याइने गरेको छ ।  कोलकाता बन्दरगाह तथा अन्य भारतीय शहरहरुबाट तयारी र कच्चा पदार्थ भारतीय ट्रकहरुले सीमासम्म मात्र नभई नेपालभर पुर्‍याउने गर्छन् । ६ महिनायता त त्यस्ता मालवाहक सवारी साधन नेपाली गन्तव्यसम्मै निर्वाध आवत-जावत गरिरहेका छन् ।

तेस्रो मुलुकबाट आयात गरिने कच्चा तथा तयारी सामान भारतीय ट्रकले नेपालभर ढुवानी गर्दै आएका छन् । तराई यातायात व्यवसायी संघका महासचिव शंकरकुमार बिष्ट भन्नुहुन्छ, ‘हाम्रा साधनहरु थन्किन थालेका छन्, यसको सोझो असर बैंक तथा वित्तीय संस्थालाई पर्ने निश्चित छ । उहाँका अनुसार नेपालका सडकमा सामान बोकेर हिँड्ने नेपाली सवारी साधनकै हाराहारीमा भारतीय नम्बर प्लेटका ट्रकहरु देखिन थालेका छन् ।

‘राज्यले बेलेमै ध्यान नपुर्‍याउने भने नेपालको ढुवानी व्यवसाय संकटमा पर्छ र यसले राज्यलाई नै क्षती पुर्‍याउँछ,’ बिष्ट भन्नुहुन्छ । ट्राफिक प्रहरीका अनुसार भारतीय ट्रकहरुले नेपालको मापदण्डभन्दा तीन गुणा बढी सामान बोकेका हुन्छन् । भारतकै नापजोखका आधारमा भन्सार प्रक्रिया पूरा हुने भएकाले त्यस्ता ट्रकलाई नेपालभर कसैले छेक्दैन ।

नेपाली प्लेटका १४ चक्के ट्रकले २५ टन मात्र बोक्न पाउने नियम छ । भारतीय १८ चक्के ट्रकले ८० टनभन्दा बढी सामान बोकेका हुन्छन् । भारतीय साधनले भन्सार नाकाबाट २४ घण्टासम्म निःशुल्क ढुवानी गर्न पाउँछन् । मध्य क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीले भारतीय ट्रकहरु केही समययता वीरगञ्जबाट क्षमताभन्दा तीन गुणा बढी सामान बोकेर नेपाली बजारमा आउने गरेको स्वीकारे । ‘हामीले भ्याएजति बढी भार बोकेर भारतीय ट्रकलाई जरीवाना गर्ने गरेका छौं,’ एसपी मैनालीले भने, ‘नेपालका सडक र पुलले धान्नै नसक्ने कतिपयलाई भार मिलान गरेपछि मात्र पठाउने गरेका छौं ।’

न्यूनतम भाडा पनि पाएनन् व्यवसायीले

देशभरिका उद्योगबाट उत्पादित वस्तु र कच्चा पदार्थ ओसारपसार गर्ने ढुवानी व्यवसायीहरुले सरकारले तोकेको न्यूनतम भाडा पनि पाएका छैनन् । पथलैया-वीरगञ्ज औद्योगिक करिडोरमा तीन सयभन्दा बढी ‘ट्रान्सपोर्ट’ सेवा सञ्चालनमा छन् । ढुवानीका वस्तु उपलब्ध गराएवापत प्रतिट्रक सात सय रुपैयाँ शुल्क लिने नियम छ । तर, ढुवानी सेवाले सोझै उद्योगका कर्मचारीसँग मिलोमतो गरी ओसारपसारको जिम्मा लिने गरेकाले मनोमानी भाडामा चित्त बुझाउनु परेको ढुवानी व्यवसायीहरुको भनाइ छ । सोही कारण आठ महिनायता राज्यले तोकेको भाडा ट्रक व्यवसायीले पाएका छैनन् ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *