Home » समाचार » पद्दतिको विकास र कानूनी शासन समृद्ध नेपालको एक मात्र उपाय
पद्दतिको विकास र कानूनी शासन
पद्दतिको विकास र कानूनी शासन

पद्दतिको विकास र कानूनी शासन समृद्ध नेपालको एक मात्र उपाय

पद्दतिको विकास र कानूनी शासन समृद्ध नेपालको एक मात्र उपाय

फुकुओका ,जापान
अक्टोबर ३१ ,२०१७

जापान डायरी 

“नेपालको समाचार नहेरी चित्तै बुझ्दैन । बिहान, उठ्नाबित्तिकै अनलाइन समाचारमा आखाँ पुग्छन् । बालकृष्ण समको इच्छा कवितामाझै मृत्युवरणका लागि मात्र त्यो सुन्दर देश नेपाल जाने नियति बदल्नुपर्छ । समय रहदैं फर्कन योग्य मुलुक बनाउनुहोस यार ।” “तपाईहरू जस्तो कर्मचारीले धेरै-धेरै गर्न सक्नुहुन्छ । राजनीति जे-जस्तो भएपनि प्रतिबद्द कर्मचारीतन्त्रबाट देश विकास संभव छ । देश त मेरो पनि त हो यार ।” जापानको प्रशिद्द क्यूसु युनिभर्सिटीमा कार्यरत इलेक्ट्रिक इन्जिनीयरिङका प्रोफेसर रमेश पोखरेलले फुकुवकामा आयोजित जमघटका बखत खुलेर मनका कुरा गरे ।

विदेशमा हाम्रा धेरै आफन्तहरू छन् र थुप्रै साथीहरू पनि । उनीहरू सधैजसो देशका बारेमा मर्मस्पर्शी लेख्छन् । कसैले चिमोटेर त कसैले दुखेसो पोखेर । सबैका आ-आफ्नै अवस्था र अनुभव र तरिका छन् । कहि न कतै देशका लागि गर्न र अन्तिममा उतै मर्न चाहने मन नै नेपाली मन हो । हो, बाहिर रहेपछि देशको प्रेम झन थपिदो रहेछ । बैशाखको नयाँवर्ष, तिज, दशै-तिहार पर्वहरू जहाँ भएपनि मनाइरहन्छन् नेपालीहरू । यो नै नेपालीपन हो । नेपाल बिर्सने सम्मको कठोर सामर्थ्य मैले आजसम्म कसैमा पनि भेटिन ।

विदेशकै नागरिकता लिएका, पासपोर्ट बोकेका र एलियन बनेर उतै घरजम गरेका साथीहरू पनि मनग्गे छन् । साँझपख दाँरू खाँदा नेपालको नागरिक नै होइन म । जे सुकै होस् । रातो अनुहार पारेर एलियन कार्ड  टेवलमा फ्याकेको पनि देखे-सुनेको छु । तर, विहानैको चियासँगै नेपालकै समाचार चाहिने र नेपाली अनलाइनको आदती रहेछ उ । सामाजिक संजाल र टेलिफोनमा अधिकांश साथीहरू पनि नेपालकै हुँदारहेछन् । विचारा, हिजो नेपाली हैन भन्ने ऊँ, रातभर गाँउघरकै सपना देख्छ र हरेक बिहान फेरि नेपाली भएर ब्यूझन्छ । कसैगरी मायाँ मार्न नसकिने देश नेपाल । सुन्दर, शान्त र प्यारो नेपाल ।

मनभरी विचारको हुरी चल्छ । प्यारो देशलाई कसरी विकसित, समुन्नत र फर्कन योग्य बनाउन सकिन्छ भनेर दिनहुँ घोचीरहन्छ । नेपालको म पनि एक सरकारी कर्मचारी हुँ । सर्वप्रथम, म आफैबाट शुरू गर्छु । हो, हामी कर्मचारी पनि निकै आरोपित छौ । खुबै मेहनत गरेर खाएको जागिरसम्मको सम्मान गर्न जानिएन । स्वार्थी बनेर राजनीतिक संरक्षण खोजिन्छ । सबैले त किन यसो गर्थे, तर धेरैले गर्छौ । गर्नु र नगर्नुका तर्क र कारण छन् । ठिक-वेठिकको कुरा नगरौं । सानोले ठूलो र एकले अर्कोतर्फ इशारा गर्छौ । देश दोषारोपणको शिकार बन्न पुगेको छ ।

जे होस, कारण थाहा हुनु पनि आधा समाधान हो । हरेक कुराको केन्द्र राजनीति बनाइयो । विद्यमान राजनीति अर्थनीतिको वरपर घुमिरहेको छ । अन्यथा अर्थ नलागोस । जनप्रतिनीधिले नाम र दाम दुबै कमाउन खोजे । यसरी नै कार्यकर्ता र कर्मचारीले पनि सिके । हाम्रो आदर्श को हो ? नेता होस वा कर्मचारी । गरीब सहि तर इमानदार अथवा वेइमान भएपनि धनी ? यी दुईंध्ये एक को ? यसैको जवाफमा हाम्रो सामाजिक मनोविज्ञान लुकेको छ । यसैगरी समाजले आफ्नो नेता आफै चुन्दै आएको छ । राजनीति र चुनाव ।

आजको नेपालमा अनुशासन पद्दति निकै कमजोर छ । भनेर र लेखेर साध्य छैन् । न्यूनतम मूल्य र मान्यताहरू क्षयीकरण भएका छन् । बजारको अनुगमन र नियन्त्रण पटक्कै विश्वसनीय छैन् । दशै र तिहारमा अझ मौलाउछ यो वदमासी । ट्याक्सीचालकहरू मिटरमा गुड्न हिच्किचाउछन् । मिठाई पसलेले पेट्रोल बेचिदिन्छ । तरकारी पसलेले मद्यपान बेच्छ । सुन व्यापारीहरूको कुरा उस्तै छ । पसलेहरू विल काट्न रूची गर्दैनन् । राजस्व प्रशासन पनि अजिब छ । वील-विजक काट्न नजान्नेप्रति जति कठोर छ । नकाट्नेसँग बरू उति देखिन्न । पसलमा विल माग्नु मानौ, असन्तुष्टिको प्रमाणपत्र हो । हामीहरू यति हतारमा छौं कि, देश हारेको र भविस्य गुमेको चालै पाउदैनौं । के ग्राहक, के व्यापारी, कर्मचारी र के राजनेता सबका सब हार्ने हाम्रो साझा राष्ट्रीय खेल झै बनेको छ ।

स्वस्थ्य बजारको हरेक कोणबाट निरुत्साहन भैरहेछ । यसबाट कोही अछुतो छैन् । धुकुटी- मानौं, बैध कुरा बनेको छ । कहलिएका समितिहरू कानून भन्दा धेरै माथी छन् । आफूखुशी गर्न नपाउदा जुनसुकै बखत आन्दोलन घोषणा हुन्छ । आफ्नै बच्चालाई स्कूल जान रोकेर खुट्टामा बञ्चरो हान्ने मान्छे समाजमा पुरस्कृत हुन्छ । कसैलाई नटेर्ने दुस्चक्रतर्फ समाज उन्मूख छ । कसैले कसैलाई नमान्ने अनौठो संस्कार । यसप्रकार, कानूनको मजाक उडाइएको छ र दण्डहिनता बढेको छ । नजानिदो किसिमले आफैले रचेको दुश्चक्रको शिकार हरेक नेपाली हुनुपरेको छ ।

मुलुकमा पाइलैपिच्छे ठगिनुपर्ने नियतिलाई ठिक गर्न नसकिने होइन । सकिन्छ । पद्दतिको विकास र कानूनको शासन यसको एक मात्र उपाय हो ।कानून भन्दा माथी हुने अजिब रहर छ यहाँ । विरालाको घाटीमा घण्टी कसले बाध्ने ? कसले र किन शुरु गर्ने ? यक्ष प्रश्न यही हो । सम्माननीय, माननीय हुँदै क्रमश: उच्च पदस्थ कर्मचारी र आम नागरिकमा कानून (रुल) एक नासले लागू गर्नुपर्छ ।

मेरो फलानो छ, भनेर गौरव गर्नु अलग कुरा हो । तर, अपराधका लागि टेन्सन लिनु पर्दैन भन्दै उक्साउनेहरूले नै यथार्थमा देशमा आगो झोसीरहेका हुन्छन् । आज शक्तिमा हुनेहरू किन अन्धा भएका होलान् ? समयले कसलाई छाडेको छ र ? राजतन्त्र त इतिहास बनेको मुलुकमा किन नचेतेका होलान् ? तथाकथित कार्की, शीलवाल, शर्मा र खड्का काण्डहरू दृष्टान्त मात्र हुन् । धरातल नबिर्से हुने । रोपेकै फल्छ, भन्ने तथ्य किन बोध नगरेका होलान् ? आश्चर्य लाग्छ । आफै ठगिने व्यापार कहिले सम्म र के का लागि ? भन्ने प्रश्नले घोचीरहन्छ ।

संसार साघुँरिएको छ । इन्टरनेटको संजाल र प्रविधिले कमाल गरेको छ । पद्दतिको विकासमा संसार लागि परेको छ । आफ्नो देश किन यसै छाडिदिएको ? पक्कैपनि मर्ने बेलासम्म कसैले त सोध्नेछ । संभवत, यो प्रश्न नयाँ पुस्ताले सोधेरै छाड्ने छ । आफ्नै सन्तानसँग झुठ बोल्न हामीलाई कठिन हुनेछ । उनीहरूको चित्त बुझाउन सजिलो हुने छैन् । सबै नेपालीका लागि यो साझा सवाल हो । म नेपाली होइन भन्न निकै कठोर मुटु चाहिन्छ । यस्तो विचार बटुलेका केही मित्र (एलियन) हरू पनि निकै छिटो गलेको देखेको छु । राउटेहरू किन जंगलमा नै रम्छन, यो जटिल सवाल थियो मेरा लागि । धन, सम्पत्ति र सांसारिक वैभव भन्दा धेरै अलग हुँदोरहेछ आप्नोपना । खासगरी देश र भाषा ।

कृपया, सबै नेता र कर्मचारीहरू भ्रष्ट छैनन् । धेरैले देखा सिकीगरेका पक्कै हो । राज्यले दिएको तलब र पुर्जाको सम्पत्ति तुलना गर्न सकिन्छ । श्रोत खुलाउ भन्न सकिन्छ । पद्दति बसाउनु ठूलो कुरा हो । हाम्रो घर, परिवार, समाज र देश सानो छ । समाजमा कसको कति थियो र आज उसको के, कति र कसरी छ ? सबैकुरा घाम जत्तिकै छ । मिडिया जादुई छ । नाङ्गेझार पार्न मिनेट लाग्नेछैन् । पद्दतिको विकास भनेकै कानूनको शासन हो ।

कुनै पनि राजनेता र कर्मचारी निदाएर तलब खान चाहादैन । उसले निकै मेहनत गरेर त्यहाँ पुगेको हुन्छ । उसलाई कमजोर पर्न नदिउ, तर गलत गर्न पनि नसघाँउ। सम्मान गरौं, अझ इमान्दारको ज्यादा । बरू उ गरिबै किन नहोस । अनपेक्षित वदलिएका जीवनशैलीलाई घृणा गरौ । चिठ्ठा नपरी अकस्मात धनी भएकालाई सामाजिक वहिस्कार गरौं । आत्मआलोचना सहित एकाकार हुनु आजको आवश्यकता बनेको छ । आफ्नो समस्या आफै समाधान गर्नुको सुख वेग्लै छ । पद्दतिको विकास एकमात्र उपाय हो । कानूनको शासन त्यसैको जग हो ।

अशोककुमार रेशम

फुकुओका, जापान

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...