काठमाडौं, १२ कात्तिक। नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टी नेतृत्वले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हार्ने ठाउँमा मात्र आफूहरुलाई उम्मेदवार बनाइएको गुनासो गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगनुभएको काभ्रेकी कांग्रेस नेतृ कमला थापाले टिकट वितरणमा कर्मठ र योग्यहरुलाई पाखा लगाउन खोजिएको बताउनुभयो ।
चितवन क्षेत्र नम्बर ३ की सविता बरालले पनि टिकट कसलाई दिने भन्ने विषयमा अन्योल देखिएको प्रतिक्रिया दिनुभयो। उहाँ समानुपातिकतर्फ उम्मेदवारको आकांक्षी हुनुभएको छ । गुल्मीकी भगवती काफ्ले भण्डारीले जनतासँग भिजेर काम गरेकाले प्रत्यक्षबाटै निर्वाचनमा उम्मेदवार बन्न चाहेको र त्यही आकांक्षा प्रकट गर्न नेतृत्वसँग भेट गर्न खोजेको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रमार्फत् गुल्मीको विकास गर्ने आफ्नो चुनावी एजेन्डा रहेको बताउनुभयो। भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रदेश सभा उम्मेदवारकी आकांक्षी हुनुहुन्छ ।