काठमाडौं, १२ कात्तिक। भारतसँग गत वर्ष पुसमा भएको कोड सम्झौता एक वर्ष बित्नैलाग्दा पनि अनुमोदन हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमोदनका लागि मन्त्रिपरिषदमा लैजान सकेको छैन ।  हवाई रुटबारे छलफल गर्न गएको मन्त्रालयको टोलीले उक्त सम्झौता गरेको थियो । नेपाल र भारतका एयरलाइन्सबीच कोड सेयरका लागि दुई देशबीच उक्त सम्झौता हुनु आवश्यक छ । दुई मुलुकबीच सम्झौता भएर पनि कार्यान्वयनमा आउन नसकेको हो ।उक्त सम्झौताबाट तत्काल नेपाललाई केही फाइदा पुग्दैन । नेपाल वायुसेवा निगमसँग अन्य विदेशी एयरलाइन्सले कोड सेयरिङ गर्ने सम्भावना छैन ।

किनकि, नेपाल अहिलेसम्म पनि युरोपियन युनियनको कालोसूचीबाट हटेको छैन । विवादास्पद सम्झौता  मन्त्रालयका सहसचिव सुरेश आचार्यसहितको टोलीले गरेको उक्त सम्झौता सुरुमै विवादित बनेको थियो । जिम्मेवारीभन्दा बाहिर गएर सम्झौता गरेकामा उक्त टोलीको आलोचना भएको थियो । सोही कारण मन्त्रालयले मन्त्रिपरिषद् नपठाएको हो, अनुमोदनका लागि । मन्त्रालयका अधिकारीहरु भने यसलाई अगाडि बढाइएको दाबी गर्छन् । सहसचिव बुद्धिसागर लामिछाने भन्छन्, ‘छिट्टै क्याबिनेटमा पठाइनेछ ।’ लामिछानेको दाबी जेसुकै रहे पनि यसमा ठोस प्रक्रिया बढेको पाइँदैन । किनकि, एक वर्षयता प्रक्रियामै रहेको दाबी गर्दै आएको छ, मन्त्रालयले ।   भारतसँग सम्झौता गर्ने टोलीमा नागरिक उड्डयन प्राधिकरण र कानुन मन्त्रालयका अधिकारीसमेत सहभागी थिए । जुन, भारतसँगको एयर मार्सल सम्झौतासँगै सम्पन्न गरिएको थियो । एयर मार्सल सम्झौताको चौतर्फी विरोध भएपछि मन्त्रालयले त्यसलाई पनि अनुमोदनका लागि अगाडि बढाएको छैन । कोड-सेयर सम्झौता पनि त्यसरी नै गुपचुप छ ।

स्रोतले भन्यो, ‘तत्काल हामीलाई यसबाट केही फाइदा छैन, यसबाट विदेशी र भारतीय एयरलाइन्स कम्पनीलाई मात्रै फाइदा हुने हो । अहिले नेपालमा उडान भर्ने विमानहरुसँग विदेशी कम्पनीले कोड-सेयर सम्झौता गर्ने सम्भावना कम भएका कारण पनि यसबाट फाइदा लिन नसकिने स्रोतको दाबी छ । सोही कारण भारतीय पक्षलाई मात्रै फाइदा हुनेगरी गरिएको उक्त विवादास्पद सम्झौता मन्त्रालयमै अलपत्र छ । मन्त्रालयका अधिकारीहरु न पारित गराउन न त खारेज नै गर्न सक्ने स्थितिमा छन् ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *