काठमाडौं,११ कात्तिक । स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्ने भएको छ । स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको जनाएको छ । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको जानकारी दिन्नुभयो। यसपछि क्रमशः देशका अन्य शहरमा पनि सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।अहिले परीक्षणका रुपमा सुरु हुन लागेको सेवालाई केही समयभित्रै व्यवसायिक रुपमा लागू गर्ने जानकारी कम्पनीले दिएको छ । केही समयपछि चितवन, वरीरगञ्ज र नेपालगञ्जमा पनि फोरजी सेवा पुर्याइने राजभण्डारीले बताउनुभयो।
फोर-जीको सुरुवातका अवसरमा विभिन्न डाटा योजना पनि ल्याइएको छ । गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको थियो । स्मार्ट टेलिकमसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर-जीमा उपयोग गर्न लागेको हो । नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छन् । संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार स्मार्टले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकम र एनसेलले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएका थिए ।