भक्तपुर, ११ कात्तिक। भक्तपुरमा सवारी चलाउने चालक र सहचालकले अनिवार्य रुपमा अंग्रेजी सिक्नुपर्ने सुझाव विभिन्न व्यक्तिहरुले दिएका छन् । भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्ष्य गर्दै चालक र सहचालकले अनिवार्य अंग्रेजी बोल्नु सिक्नुपर्ने सुझाव भक्तपुरका राजनीतिक दल तथा तिनका नेताले दिएका हुन् ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताउनुभएको छ। भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा उहाँले केही नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन्, भन्ने समाजको बुझाइ रहेकाले सो भ्रम चिर्न चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने समेत उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै समाजको मन जित्नुपर्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालक सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधा यात्रुअनुकूल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरियो।
मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र स्थानीय भाडा रु १० मात्रै लिने निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । समितिको यही कात्तिक १ गते सम्पन्न १२औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उक्त निर्णयलाई लागू गर्ने बताएको हो ।