काठमाडौं,१० कात्तिक। नेपाली नागरिक नवल यादवले सन् २०१७ को संयुक्त राष्ट्रसंघीय महासचिव अवार्ड प्राप्त गरेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघको सचिवालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रसंघका उपमहासचिव एमिना जे मोहम्मदले उहाँलाई सो अवार्ड प्रदान गरनुभएको हो ।
संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आफ्नो जिम्मेवारीभन्दा माथि उठेर योगदान पुर्यउने कर्मचारीलाई चार विधामा महासचिव अवार्ड प्रदान गर्ने गर्छ ।महासचिवको सचिवालयले १२१ वटा मनोनयन प्राप्त गरेकोमा त्यसबाट प्रत्येक विधामा चार फाइनलिस्टहरुको छनोट गरेको थियो । यादवले ‘च्याम्पियन अफ द सस्टेनेबल डेभलपमेन्ट गोल्स विधामा पुरस्कार जितनुभएको हो । नेपालमा सामुदायिक स्कुलहरुलाई सहयोग गरेकोमा यादवलाई सो पुरस्कार दिइएको बताइएको छ ।
महोत्तरी जिल्लाको तिमाकियामा जन्मेका यादव सन् २००३ को अप्रिलमा इन्टरनल अडिटरका रुपमा संयुक्त राष्ट्रसंघमा प्रवेश गरनुभएको थियो। उहाँले १४ वर्ष नैरोबीको राष्ट्रसंघ कार्यालय, पूर्वी टिमोरको शान्ति मिसन, सुडानको शान्ति मिसन र न्यूयोर्कस्थित राष्ट्रसंघको प्रधान कार्यालयमा काम गरनुभएको हो । यादव एक चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ। उहाँले २५ वर्षसम्म नेपालको सरकारी कर्मचारीका रुपमा काम गरनुभएको थियो ।
यादवले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको स्थानमा सामुदायिक स्कुलहरुलाई सहयोग गरिरहनुभएको छ । आफ्नै पैसाबाट उहाँले विद्यालयको पूर्वाधारमा खर्च गरनुभएको हो ।