दाङ । पश्चिम नेपालका थारु समुदायको कम्हलरी प्रथालाई मुख्य विषयवस्तु बनाई निर्माण गरिएको चलचित्र ‘लावाजुनी’को पोष्टर सार्वजनिक गरिएको छ । थारू भाषामा लावाजुनी भनेको नयाँ जीवन हो । घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा मुक्त कम्हलरी विकास मञ्चकी पूर्व अध्यक्ष उर्मिला चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन पि्रयासन, चलचित्रका लेखक एवं निर्देशक केएल पीडितले पोष्टर सार्वजनिक गरनुभएको थियो ।
पोष्टर सार्वजनिक कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत, युवा अभियन्ता प्रकाश शाही, नायक बीरुभाइ बज्राचार्य, निर्मात्रीद्वय रिना बस्नेत र पद्मा लम्साल पनि सहभागी हुनुभएको थियो । नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका निर्देशक एवं लेखक पीडितले दास प्रथाको रुपमा प्रचलनमा रहेको कम्हलरी प्रथाका कारण विगतमा थारु बालिकाहरुले भोग्नु परेको नारकीय जीवन र उनीहरुको मुक्तिको संघर्ष र सपनालाई चलचित्रमा चित्रण गरिएको बताउनुभयो ।
विदेशमा विशेष प्रदर्शनपछि ‘लावाजुनी’लाई हलमा प्रदर्शन गरिने कार्यकारी निर्देशक पीडितले बताउनुभयो। चलचित्र लावाजुनीमा छबिलाल कोपिला, अनिता महतारा, सुशीला चौधरी, ज्वाला खतिवडा, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको संगीत सन्तोष श्रेष्ठले गरनुभएको छ, भने गीतमा कोमल वली, कुलानन्द गिरी, सतिस राजभण्डारी, स्वीकृति डाँगी र कोमलसरी घर्तीको स्वर रहेको छ । नृत्य निर्देशन नरेन्द्र चौधरीले गर्नुभएको छ चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुनुहुन्छ, रिना बस्नेत, सम्झना जीएम, पद्मा लम्साल र बसन्तराज भट्ट निर्माता हुन् ।