काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठनको तयारीमा रहेका दलहरु सिट बाँडफाँडको अन्तिम कसरतमा जुटेका छन् । त्यसका लागि कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ११ बजे बोलाइएको छ । त्यसअघि राजपा, फोरमलगायत दलका नेताहरुसँग छलफल गर्ने कांग्रेसको योजना छ । कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार, लोकतान्त्रिक गठवन्धननिकट रहेका दलहरुसँग छलफल गर्ने र आजै सिट बाँडफाँड गर्ने गृहकार्य गरिएको छ । कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहभागी छन् ।

सिट बाँडफाँडबारे दुई राप्रपासँग कांग्रेसले छलफल गरेपनि राजपा र संघीय फोरमसँग ठोस छलफल हुन सकेको छैन । फोरम र राजपाले छलफलका लागि बिहीबारको समय मागेकाले यो विषय टुंगिन नसकेको नेताहरुले बताउनुभएको छ । सिट बाँडफाँडमा ढिलाइ भएपछि कांग्रेस अलमलमा परेको छ । उसले बिहीबारको बैठकबाट सिट बाँडफाँड टुंगो लगाएर आफ्ना उम्मेदवारहरु छनोट गर्ने सोच बनाएको छ । कांग्रेसका एक नेताले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रको सिट बाँडफाँडका लागि बिहीबार गठबन्धन संबद्ध दलहरुको बैठक बोलाइएको जानकारी दिए । ती नेताका अनुसार, आजको बैठकले सिट बाँडफाँडको टुंगो लगाएपछि कांग्रेसले पार्टीको उम्मेदवार तय गर्नेछ । यद्यपि, लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँड सहजै टुंगिने सम्भावना भने कम छ । संघीय फोरम र राजपाले प्रदेश नं. २ मा धेरै सिट मागेकाले यो पेचिलो बन्ने अनुमान गरिएको छ ।

दोस्रो चरणको उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएकाले गठबन्धनमा सहभागी दलहरु उम्मेदवार टुंगो लगाउन दबावमा परेका छन् । दोस्रो चरण निर्वाचनको उम्मेदवार मनोनयन दर्ता कात्तिक १६ का लागि तोकिएको छ । दोस्रो चरणको चुनाव ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ । यसअघि ३२ जिल्लामा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता भइसकेको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *