पाल्पा, ८ कात्तिक – पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवती तालमा चिच्याएर वरदान (वर) माग्ने मेला लाग्ने भएको छ । सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सत्यवती धार्मिक मेला यही कात्तिक १६, १७ र १८ गते सम्म हुने भएको हो । रातको समयमा सत्यवती तालमा लिंगो गाडेर बिहान सही लिंगो चिनेर पूजा गर्ने चलन रहेको छ । सत्यवती बजैको कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने चलन रहेको समितिका अध्यक्ष अध्यक्ष सुनवीर गाहाले बताउनुभयो ।

अँध्यारो भएपछि तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताउनुभयो । कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यो मन्दिरमा पूजा गर्ने बढी आउने गर्दछन् । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमाका दिनसम्म सत्वयती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत दर्शन गर्न आउने गरेको सचिव लालबहादुर दर्लामीले बताउनुभयो ।

सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्याएर वर माग्ने चलन रहेको हो । त्यहाँ पुग्ने हजारौँले एकैपटक चिच्याएर वर माग्दा जंगलको सुनसान रात गुञ्ज्यमान हुने तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सत्यवती ताल क्षेत्र धार्मिक आस्थाको केन्द्र रहेकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।तानसेन—बुटवल सडकखण्डको चौबिस माइलबाट एकघण्टा ३० मिनेटको उकालो चढेपछि सत्यवती ताल, सत्यवती बजैको मन्दिरमा पुग्न सकिन्छ । सत्यवती बजैका लागि परेवा र बाख्राको बलि दिने चलन छ ।

.

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *