काठमाडौं,७ कात्तिक। माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । यसअघि माओवादी नेताहरुले तिहारलगत्तै मनोनयन दर्ता गरेपछि सरकार छाड्ने अभिव्यक्ति दिएका थिए । तर, मनोनयन दर्ता भएको दुई दिन बितिसक्दा पनि माओवादी मन्त्रीहरु विनाविभागीय हैसियतमा सरकारमा कायमै छन् । सरकार कहिले छाड्ने भन्ने अनलाइनखबरको प्रश्नमा माओवादी प्रवक्ता पम्फा भुसालले चुनावमा केन्द्रित भएकाले सरकार छाड्ने कुरा गौण भएको बताउनुभयो । ‘अहिलेको प्रमुख काम निर्वाचन हो । सरकार छाड्ने कुरा सहायक भइसक्यो,’ उहाँले भन्नुभयो।

सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपालाई समावेश गरी माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरनुभएको थियो । त्यसलाई माओवादीले चुनाव सार्ने षडयन्त्रको संज्ञा दिएको थियो । चुनावी तयारी गरिरहेका बेला प्रदेश र प्रतिनिधिसभा निर्वाचन सार्ने षडयन्त्र भइरहेको सूचना पाएको बताउँदै माओवादीले चुनाव सुनिश्चित नभएसम्म सरकारमै रहने घोषणा गरेको थियो ।

१० मंसिरमा निर्धारित चुनावको मनोनयन दर्ता भइसकेकाले अब चुनाव सर्ने आशंका हटिसकेको छ । तर, माओवादी सरकारबाट बाहिरिन अनिच्छुक देखिएको छ । देउवा-प्रचण्ड भेटले बदलियो परिस्थिति मनोनयन दर्ताको अघिल्लो दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटमा भएको छलफलको विषयबस्तु सार्वजनिक भइसकेको त छैन तर माओवादी नेता हरिबोल गजुरेलले देउवासँगको छलफल सकारात्मक भएकाले अब परिस्थिति बदलिनसक्ने बताउनुभयो।’ उहाँले भनुभयो,‘शेरबहादुरजीसँग सकारात्मक छलफल भइरहेको छ । परिस्थिति पहिलेभन्दा सहज बनेको छ।

गजुरेलले ‘सकारात्मक छलफल’को अन्तर्य खुलाउन चाहानु भएन्न । उहाँले अझै पनि चुनाव सार्ने चलखेल भइरहेको आशंका व्यक्त गरनुभयो । उक्त शंका दूर भए सरकारबाट फिर्ता हुने पनि उहाँले बताउनुभयो । गजुरेलले भन्नुभयो, ‘अहिले चुनावको वातावरण बन्दै गइरहेको देखिएको छ तर पनि विभिन्न ढंगले बिथोल्ने कोशिसहरु भइरहेकै छन् । ती शंका दूर भए फिर्ता हुन्छौं ।’

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *