काठमाडौं । ‘यदि भोलि म मरिहालें भने, तिमीले मेरोबारेमा सम्झिने कुरा के छ ? आइतबार मध्यान्ह फेसबुकमा रिचा (रेखा) सेढाईंले आफ्नो फेसबुक वालमा यही पोस्ट गरेकी छन् । त्यसको करिब ६ घण्टापछि अर्की साथीले रिचाकै टाइमलाइनमा लेखेकी छन्, ‘सुसाइड इज नट सोलुसन यार, रेस्ट इन पिस रिचा !  यतिबेला रिचाको टाइमलाइनमा समवेदना पोख्नेहरुको ताँती लागेको छ । त्यसमा धेरैजसो उनका साथी छन्, जो रिचाको अप्रत्यासित आत्महत्यालाई स्वीकार्न सकिरहेका छैनन् । उनीहरुले लेखेका छन्, ‘किन गर्‍यौ यस्तो ?

रिचाले किन आत्महत्या गरिन् ? यो प्रश्नले अहिले युवामाझ बढ्दो मनोविकार पनि उधिन्छ । त्यसैले हामीले उनको मृत्युबारे थप जान्न खोज्यौं ।रिचा झापाको बिर्तामोडमा डेरा लिएर बसेकी रहिछन् । उमेर २२ वर्ष । घटनाको अनुसन्धानमा जुटेका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले उनी आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । यद्यपि, उनी किन आत्महत्या रोज्न बाध्य भइन् भन्ने अझै खुलेको छैन । प्रहरी निरीक्षक बिष्टले भने, ‘धेरैजसो केसमा सुसाइड नोटबाट त्यसको कारण थाहा हुन्छ । तर, उनले त्यस्तो केही लेखेकी छैनन् । हामी अनुसन्धान गर्दैछौं, त्यसका लागि पर्याप्त समय छ ।’

घटनाको प्रकृति र आफन्तहरुको बयानका आधारमा केही कारण अनुमान गर्न सकिन्छ त ?‘अहिले त्यस्तो केही भन्न सकिँदैन । मिल्दैन पनि,’ प्रहरी निरीक्षक बिष्ट यति भनेर पन्छिए । हामीले रिचाका फेसबुकमा जोडिएका साथीसँग यसबारे सोध्यौं । तीमध्येकी एकले भनिन्, ‘डिप्रेसनमा थिइन् भन्ने सुनेकी थिएँ । वातावरण परिवर्तन भएपछि अलिकति फ्रिस हुन्छिन् भनेर आज (सोमबार) बैंगलोर पठाउने कुरा थियो रे ।’

रिचाले भित्रभित्रै आफूलाई एक्लो महशुस गरिरहेकी हुनसक्ने उनले बताइन् । ‘जब आफ्नो कुरा सुन्ने कोही हुँदैन, त्यसले एक्लोपन महशुस हुन्छ,’ यसो भन्दै उनले रिचा खराब मनोदशाबाट गुज्रिरहेको संकेत गरिन् । अर्का एक युवाको स्टाटसबाट भने ‘रिचा डाक्टर बन्न चाहने तर त्यसका लागि पढाइ खर्च नभएको’ बुझिन्छ । उनले लेखेका छन्, ‘साहै्र गल्ति गरिस् बुनु, पढाइका लागि पैसा पुगेन भनेर यसरी हिम्मत हार्छेस् भन्ने थाहा थिएन ।

जिन्दगीमा डाक्टर बन्नु नै थियो तर भगवानले यति राम्रो अनुहार दिए, बुद्धि दिएका रहेनछन् । मामा, माइजू अनि हाम्रो परिवारको महत्व बुझ्न सकिनस् । गरिबी बुझ्न सकिनस् नानी । रिचाको अर्को स्टाटसबाट बुझ्न सकिन्छ, उनी मानसिक रुपले विक्षिप्त थिइन् । तर, यो अवस्थामा उनी कसरी पुगिन् ? त्यसबारे भने स्पष्ट छैन । आइतबार नै करिब तीन बजे उनले स्टाटस लेखेकी छन्, ‘धेरै कुराले यो मन उथलपुथल बनाइदिन्छ ।’

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *