गोरखा, ७ कात्तिक। ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेझैं गोरखामा चुनावी माहोल गर्माए पनि भूकम्पपीडितमा कुनै रौनक छैन । प्रतिनिधि सभा र प्रदेश सभाको यो महत्वपूर्ण निर्वाचन भए पनि उनीहरुमा कुनै उत्साह देखिँदैन । भूकम्पले भत्किएको घर कसरी पुनर्निर्माण गर्ने भन्ने चिन्ताले उनीहरु चाहेर पनि चुनावी माहोलमा रमाउन सकेका छैनन् ।  भूकम्प गएको २९ महिना बितिसक्दा पनि त्यतिबेला भत्किएका अधिकांश पीडितका घर ठडिन सकेका छैनन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण ग्रामीण भेगका अधिकांश पीडितले घर बनाउन सकेका छैनन् । चुमनुव्री गाउँपालिका-६ चुम्चेतका पीडितहरु भने प्राविधिकको पर्खाइमा बसिरहेका छन् । भूकम्पपछि अनुदान सम्झौताका लागि एक पटक मात्र प्राविधिक भेटेका चुम्चेतका पीडितहरुले त्यसयता उनीहरुको मुख पनि देख्न पाएका छैनन् । प्राविधिक अभावका कारण उनीहरुले भत्किएको घर पुनर्निर्माण गर्न सकेका छैनन् ।‘सरकारले भनेअनुसार घर बनाउनुपर्छ रे, कस्तो बनाउनु पर्ने हो थाहा छैन ।

प्राविधिक पनि आउँदैनन्, कसलाई सोध्नु ?’ स्थानीय कर्मा लामाले गुनासो गरनुभयो । आफूखुशी घर बनाउँदा अनुदान रकम नपाइने चिन्ता रहेको उहाँले बताउनुभयो । अढाइ सय घरधुरी रहेको चुम्चेतमा सबै पीडित महिनौंदेखि प्राविधिकको बाटो हेर्दै बसेका छन् । प्राविधिक झुल्किने आशा पूरा नहुँदा अस्थायी टहराकै कष्टकर जीवन बाध्यता बनेको छ, उनीहरुका लागि ।

अधिकांश पीडितले काठ र ढुंगा जम्मा गरिसकेका छन् । स्थानीय पासाङ लामाले भने, ‘तर, प्राविधिक आउँदैनन्, घर बनाउने कहिले हो कहिले !’सरकारले अनुदान रकम लिने समय सीमा भने तोकिसकेको छ । घर निर्माण सुरु नै नभएका कारण उनीहरु सरकारी अनुदानबाट छुट्ने चिन्तामा छन् । स्थानीय शेराप गुरुङको भनाइमा अन्य ठाउँमा घर बनिसकेको देख्दा मन खिन्न हुन्छ । ‘हामीलाई सरकारले वास्ता नै गरेन,’ उहाँले भन्नुभयो।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *