काठमाडौं ,५ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ ।पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यी हुन् उम्मेदवारी दर्ता गर्दा चाहिने कागजपत्र उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने छ ।प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् । त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसैगरी दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव हुँदैछ । यसैगरी पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता छन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *