काठमाडौं १ ,कात्तिक । नेपालमा वार्षिक करिब पौने दुई अर्ब रुपैयाँ बराबरको फूलको कारोबार हुन्छ । यस क्षेत्रका विज्ञहरु नेपाल भौगालिक र पर्यावरणीय हिसाबले समेत फूल खेतीका लागि उपयुक्त रहेको बताउँछन् ।फूल खेतीको व्यावसायिक प्रवद्र्धन गर्न सकिए रोजगारी र गरिबी निवारणमा समेत महत्वपूर्ण योगदान पुग्ने उनीहरुको विश्वास छ । तर, नेपालको पुष्पखेती भने अझै पनि उपेक्षित छ । तिहारका बेला भारतबाट फूल भित्र्याउने क्रम रोकिएको छैन ।
व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण नहुनु, परम्परागत खेती प्रणालीका कारण व्यावसायिकता फस्टाउन नसक्नु, व्यवसायी आफैं पनि पुष्पखेतीमा लगानी गर्न हिच्किचाउनुलगायत कारणबाट अथाह सम्भावनाका बावजुद यसले उचाइ पाउन सकेको छैन ।नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा सात सयभन्दा बढी संख्यामा पुष्प व्यवसाय सञ्चालनमा छन् । यो संख्या बर्सेनि बढ्दै गएको छ ।
आयात प्रतिस्थापनमा हम्मे
नेपालमा वार्षिक एक अर्ब ७१ करोड रुपैयाँबराबरको फूलको कारोबार हुने एसोसिएसनको भनाइ छ । यसमध्ये १० करोड रुपैयाँबराबरको मालाको कारोबार हुन्छ ।
करिब २० प्रतिशत अर्थात् वार्षिक १० करोड रुपैयाँबराबरको फूल आयात हुन्छ । यसपटक तिहारमा पनि करिब तीन लाख गोटा माला आयात गर्ने तयारीमा छन्, व्यवसायी । तिहारमा करिब १५ लाख गोटा मालाको माग रहेको व्यवसायीको भनाइ छ । तिहारमा हुने कारोबार वर्षभरिको झण्डै एक चौथाइ हिस्सा हो ।
व्यवसायी र सरकारी निकाय दुवैका अनुसार पछिल्लो समय फूलखेतीमा भएको विस्तारले आयात प्रतिस्थापन हुने क्रममा छ । ‘पुष्पखेतीमा भएको सुधार र व्यावसायीकरणका कारण आयात घट्दै गएको देखिन्छ,’ कृषि विकास मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनाल भन्छन् । व्यवसायीहरु पनि आन्तरिक उत्पादन बढ्दा आयात प्रतिस्थापन हुन थालेको बताउँछन् ।