सिमरा १ कात्तिक ।  तिहारमा चारैतिर चहलपहल बढ्दा वृद्धवृद्धाहरुको मनमा खुशी छैन । परिवारबाट बिरक्तिएर वा अन्य कारणले बारा पथलैयाको वृद्धाश्रममा जीवनको उत्तराद्र्ध व्यतित गरिरहेका छन्, उनीहरु ।सीता श्रेष्ठ सात वर्षदेखि वृद्धाश्रममा छिन् । उमेर ठम्याउन सक्दिनन् उनी । नजिकै बसेका समवयी वृद्धाहरु अड्कल काट्छन्, चार–बीस अर्थात् ८० वर्ष ।

४९ वर्षको उमेरमा उनका पति बाथ र नसा रोगले थलिए । र, उनलाई एक्लै पारेर अनन्त यात्रामा उनको आत्मा निस्कियो । त्यसपछि भगवान नै गुमाएझैं भयो, उनलाई ।‘आमा बित्दा नौ महिनाकी थिएँ, त्यसको दुई वर्षपछि बुवा घरबाट हिँड्नुभो, उमेर खै कति भो थाहा छैन,’ उनी भन्छिन्, ‘९० सालको भुइँचालोमा दाइ पेटमा हुनु हुन्थ्यो रे ।’उनले चार छोरी र दुई छोरालाई जन्म दिइन् । एक छोरा १२ वर्षको उमेरमा बेपत्ता भए । दुई छोरीको वीरगञ्ज र दुईको काठमाडौंमा बिहे भयो । एक छोराको विवाह भएपछि आफ्ना दुःखका दिन सुरु भएको उनी बताउँछिन् ।

‘श्रीमान् त भगवानजस्ता थिए, छोराले पनि माया गथ्र्यो, बुहारीको सधैंको कचकचले छोराले समेत घर छाड्यो,’ उनी भन्छिन्, ‘बुढेसकालमा कोही भएनन् ।’छोरो घरबाट हिँडेपछि बुहारीले सधैँ ‘मर्न जा’ भनेर दुव्र्यवहार गरेकाले एकदिन उनी पनि घरबाट निस्किइन् । काठमाडौंबाट ट्रकलाई सय रुपैयाँ भाडा तिरेर ०६७ सालतिर उनी पथलैयाको आधाभार जंगलमा झरिन् ।चार दिनसम्म जंगलमा केही खान पाइनन् । दाउरेहरुले देखेर वृद्धाश्रममा खबर गरिदिए । रुग्ण अवस्थामा उनलाई बचाएर आश्रममा ल्याइएको सञ्चालक जीवन कालीकोटेले बताए ।सन्तानको खुसीका लागि सम्पूर्ण समय खर्चिएका बृद्ध–बृद्धाहरु सन्तानबाट उपेक्षित हुँदा वृद्धाश्रमलाई जीवनको साहरा बनाइरहेका छन्

अहिले उनी लठ्ठीको सहारामा शौचालयसम्म जान सक्छिन् । केही समयअघि शिवरात्रिका दिन आँगनमा लडेर ढाड भाँचियो । शल्यक्रियापछि स्टिल लगाइयो ।बिहेमा पतिले किनिदिएको गहना बेचेर स्टिल लगाइन्, उनले । स्टिल निकाल्न पैसा नहुँदा पिरोलिएकी छन् ।आँखाबाट चश्मा निकाल्दै उनले भनिन्, ‘यो लगाए पनि एउटा आँखाले मात्रै देख्छु, ढाड दुखेर रातभरि निन्द्रा लाग्दैन, अपरेसन गरेर स्टिल निकाल्न पाए हुन्थ्यो, पैसा कहाँ पाउनु ।’चाडबाडमा छोरीका छोरा (नाति)हरु भेट्न आउँछन् । छोरीहरुले घर जाऊँ भने पनि अब आश्रममै बानी परेको छ, उनलाई । ‘अब कतै जान मन छैन,’ उनी भन्छिन् ।

आश्रममा गुजारा गरिरहेकी ७० वर्षीया सञ्जा खत्री यहाँ आएको वर्षौं बित्यो । जीवनको उत्तराद्र्धसम्म पनि वैवाहिक जीवनको अनुभव गरिनन् । उमेर र बैंसमा छउञ्जेल होटेलमा काम गरेर बिताइन् । बाबु–आमा, ठेगाना र घर केही थाहा छैन, उनलाई । सानैमा लडेर खुट्टामा समस्या आएपछि खोल्च्याउँदै हिँड्छिन् ।खुट्टाकै कारण जीवनभर बिहे नभएको बताउँछिन् । कान पनि कम सुन्छिन् । उनलाई भेट्न अहिलेसम्म कोही आएको छैन । अर्थात्, परिवारका सदस्यबाट बेखबर छिन्, उनी ।भन्छिन्, ‘थाहा पाएदेखि होटेलमा काम गर्थें, बाबुआमा भनेर कसैलाई चिनिनँ, घर पनि कसैले देखाइदिएनन्,’ उनले भनिन्, ‘बुढी भएपछि काम गर्न सकिनँ, होटेलबाट निकालिदिएपछि केही समय मागेर पनि खाएँ, एक जना चिनेको मान्छेले यहाँ ल्याइदिए ।’

भारत बरगनियाकी शान्ती ढकाल पनि पाँच वर्षदेखि आश्रममा छिन् । उमेर थाहा छैन, उनलाई पनि । ९० सालको भूकम्पमा ६ दिनकी थिइन् रे ।१० वर्षअघि पति बिते । दुई छोराहरु वीरगञ्जमा व्यवसाय गर्छन् । बरगनियाबाट वीरगञ्ज आई भाडामा बसेर व्यवसाय गर्थे, उनका पति । उनी बितेपछि छोराहरुले वास्ता गर्न छाडे । र, उनी वृद्धाश्रममा आइन् ।यस वृद्धाश्रममा अहिले २४ जना वृद्धवृद्धा छन् । संघसंस्था र व्यक्तिले लत्ताकपडा र खानेकुरा लगिदिँदा उनीहरुको खुशीको सीमा हुँदैन । भावविभोर भएर आशिर्वाद दिन्छन् । र, उनीहरुको गुजाराको माध्यम बनेको छ, सरकारले उपलब्ध गराउने वृद्ध भत्ता ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *