स्याङ्जा ३१ असोज ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले ग्रामीण कच्ची सडकमा भेट्टाएको २ लाख ३० हजार रुपैयाँ हराउने व्यक्तिलाई खोजेर फिर्ता गरेका छन् । हेलु–अर्जुनचौपारी ग्रामीण सडकमा बेवारिसे अवस्थामा फेला परेको रकम अर्यालले नगद धनी केशव भुसाललाई फिर्ता गरेका हुन् ।

कामको सिलसिलामा आइतबार दिउँसो हेलु जाँदै गरेका अर्जुनचौपारी गाउँपालिकाका लेखापालसमेत रहेका अर्यालले रकमको बिटो अर्जुनचौपारी गाउँपालिका १ माटेथर कच्ची मार्गमा भेट्टाएका थिए । रकम बाँधिएको कागजमा लेखिएको भुसालको नाम र मोबाइल नम्बरबाट रकम हराउने व्यक्ति फेला पार्न र बुझाउन सहज बनेको अर्यालले बताए । नाम र नम्बरका आधारमा भुसाललाई फोन गरी प्रहरीको रोहबरमा भेट्टाएको नगद हराउने व्यक्तिलाई प्रदान गरेको उनले बताए।

पछाडि बोकेको झोलामा २ लाख ३० हजार रुपैयाँ राखेर मोटरसाइकलमा हेलुतर्फ जाँदै गर्दा भुसालको रकम बाटोमा खसेको थियो । भुसालले उक्त रकम आफ्ना व्यापारी साथीलाई आईएमई गर्न जाँदै गर्दा बाटोमा खसेको र उनले भनेकै आधारमा नगद भेट्टाइएकाले भुसालको रकम निक्र्यौल भएको अर्जुनचौपारी प्रहरीका हबल्दार जनार्दन यादवले बताए ।केही वर्षदेखि अर्जुनचौपारी बजारमा पसल सञ्चालन गर्दै आएका भुसालले रकम हराएको केही घन्टामै पाउन सफल भएका हुन् । एक इमान्दार व्यक्तिले रकम भेट्टाएका कारण पाउन सफल भएको भन्दै भुसालले अर्याललाई धन्यवाद दिए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *