नपालगंग्ज ३१ असोज  अवैध रूपमा नेपाल भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए ।

‘भारतीय दूधले हाम्रा उद्योग धरासयी बनेका छन्’, उनले भने । पशु क्वारेन्टाइन कार्यालयका अनुसार प्रत्येक दिन रूपैडिया नाकाबाट नौ सय ५० लिटर दूध नेपाल आउने गरेको छ । सहायक नाकाबाट पनि दुईदेखि तीन सय लिटर दूध भारतबाट नेपालगन्जलगायत बाँकेका अन्य साना सहरमा पुग्ने गरेको छ । भारतका पशुपालक कृषकले भन्सार नाकामा कुनै रोकतोकबिना नेपालगन्जलगायत अन्य सहरमा दूध पुर्‍याउने गरेका छन् । भारत सरकारले पशुपालक कृषकलाई विभिन्न किसिमका सहुलियत दिने भएकाले भारतीय कृषकले उत्पादन गरेको दूधको मूल्य सस्तो हुने गरेको छ दूधमा ५ प्रतिशत तथा दुग्धजन्य पदार्थ आयातमा १५ प्रतिशत भन्सार लाग्ने स्पष्ट व्यवस्था छ । तर अहिलेसम्म एक लिटर दूध पनि भन्सार नभएको पाइएको छ ।

दूध उत्पादनमा लागत कम लाग्ने भएकाले भारतीय कृषकले नेपाली कृषकको तुलनामा आधा सस्तो मूल्यमा दूध बिक्री गर्दै आएका छन् । नेपाली कृषकले प्रतिलिटर ६० रुपैयाँका दरले दूध बिक्री गरिरहँदा भारतीय कृषकले प्रतिलिटर २०-४० रुपैयाँमै दूध बिक्री गरेको पाइन्छ । भारतीय कृषकले उत्पादन गरेको दूध नेपालगन्जका होटल र मिठाई पसलले खरिद गर्ने गरेका छन् ।त्रिभुवन चोक, सदरलाइन, धम्बोझी चोकका मिठाई पसलमा भारतिय दुधको प्रयोग हुने गरेको छ । भारतबाट आउने दूधको पशु क्वारेन्टाइन कार्यालयले ‘लेक्टोमिटर रिडिङ’बाहेक केही नगर्ने गरेको दुग्ध व्यवसायी संघका अध्यक्ष अन्सारीले गुनासो गरे ।

पशु क्वारेन्टाइन चेकपोस्ट, क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयले यति धेरै दूध आउँदा पनि ध्यान नदिएको उनको भनाइ छ । ‘हामीलाई अनुगमन गर्ने, कारबाही पनि गर्ने तर भारतबाट दैनिक यति ठूलो परिमाणमा दूध आउँदासमेत ध्यान नदिने यो कस्तो प्रशासन हो’, उनले आक्रोश पोखे । बिनाजाँच एवं भन्सार भारतीय दूध ल्याउने कार्य नरोकिए दुग्ध व्यवसायीले प्रतिरोध गर्ने उनको चेतावनी छ ।

दूधमा ५ प्रतिशत तथा दुग्धजन्य पदार्थ आयातमा १५ प्रतिशत भन्सार लाग्ने स्पष्ट व्यवस्था छ । तर अहिलेसम्म एक लिटर दूध पनि भन्सार भएको तथ्यांक भन्सार कार्यालयमा छैन । बाँकेमा ४१ वटा डेरी सञ्चालनमा छन् । बाँकेमा दर्ता भएका दुग्ध डेरीले गाउँगाउँमा गएर दूध संकलन गरेर ल्याइरहे पनि भारतीय दूधका कारण दुःख पाइरहेको अध्यक्ष अन्सारीले बताए ।

भारतबाट नेपाल आउने दूधमा फ्याट एक प्रतिशतभन्दा कम हुने गरेको पशु क्वारेन्टाइन चेकपोस्ट नेपालगन्जका प्रमुख पशु चिकित्सक रामसेवक त्रिपाठीको भनाइ छ । गाईभैंसीको दूधमा कम्तीमा ३ प्रतिशत फ्याट हुने उनले बताए । तर भारतबाट आउने दूधमा धेरै पानी हालिने भएकाले नेपाल भित्रिने दूधमा फ्याटको मात्रा कम भएको उनको भनाइ छ ।नेपालगन्ज नाका भएर आउने दूधमा ल्याक्टोको सामान्य परीक्षण मात्र हुने गरेको छ । ल्याक्टोमिटरमार्फत ल्याक्टोको मापन गरिँदै आएको पशु चिकित्सक त्रिपाठीले बताए । ‘ल्याक्टो परीक्षण भए पनि उपकरण अभावमा फ्याट परीक्षण हुन सकेको छैन’, उनले भने ।

परीक्षणका लागि उपकरण नभएकाले शंका लागेमा क्षेत्रीय खाद्य प्रविधि प्रयोगशालामा पठाउने गरेको उनले जानकारी दिए । एकपटक परीक्षण गरेको ६ सय ५० रूपैयाँ शुल्क लाग्छ । महँगो शुल्क र समयमै रिपोर्ट नआउँदा परीक्षण गराउन समस्या भएको उनले बताए । ‘पटकपटक शुल्क तिरेर परीक्षण गराउन सकिने अवस्था छैन, तैपनि एक दिनमा रिपोर्ट आउँदैन’, उनले भने ।भन्सार कार्यालयले आयातनिर्यात हुने सबैजसो वस्तुको भन्सार शुल्क लिए पनि दूधमा कुनै शुल्क तोकेको छैन । भन्सार कार्यालयले शुल्क नलिएकै कारण भारतीय कृषकले निर्धक्कसँग नेपाली बजारमा दूध ल्याउन पाएका छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *