पत्नीलाई शितल छहारी दिन मनोजराजलाई सल्लाह

काठमाडौं  २९ असोज । गायिका अञ्जु पन्त यतिबेला ‘सिंगल’ छिन् । तर, उनले आफूलाई कहिल्यै सिंगल महशुस गरेकी छैनन् । कार्यक्रमका लागि जहाँ जान्छिन्, स-परिवार पुग्छिन् ।

कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ ।’ गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जुसमक्ष विवाहका धेरै प्रस्ताव आए । तर, अब उनी पुनः विवाहको पक्षमा छैनन् ।

एकपटक वैवाहिक जीवन भोगिसकेकी अञ्जुलाई के लाग्छ भने विवाह जीवनका लागि एउटा काँडा हो ।

‘एउटा काँडा झिकिसकेकी छु भने अर्को काँडा किन रोप्ने ?’ अञ्जुले उल्टै प्रश्न गरिन् ।

जीवनमा एउटा पाठ सिकाउन सहयोग गरेकामा मनोजलाई उनी धन्यवाद दिन्छिन् । अञ्जु र मनोजको कहिलेकाहीं भेट हुन्छ । आपसमा राम्रै बोलचाल हुन्छ ।

एउटा कार्यक्रममा अञ्जु निर्णायक थिइन् । मनोजले अवार्ड पाए ।

मनोजलाई पारिवारिक सल्लाह र सुझावसमेत दिने गरेकी छन्, अञ्जुले । दोस्रो बिहे गरेका मनोजलाई अञ्जुको सुझाव छ, ‘तपाईंको घरमा आमा, दिदी र श्रीमति हुनुहुन्छ, उहाँहरुलाई शितल छहारी दिनुस् ।’

मोह छैन, रंगिन जीवनको

जीवन एउटा अमूल्य उपहार हो भन्ने पटक-पटक दोहोर्‍याउँछिन् ।

वैवाहिक जीवनमा हुँदा अञ्जुले केही सपना पनि नबुनेकी होइनन् । जब सिंगल लाइफ जिउन सुरु गरिन्, सपना बुन्ने काम थाती राखिन् ।

‘अब मलाई रंगिन जीवनको कुनै मोह छैन,’ उनी भन्छिन् ।

उनलाई जीवन एउटा लोलाजस्तै लाग्छ । कहाँ, कतिबेला प्याट्ट फुट्ने हो कुनै ठेगान छैन ।

‘किन बुन्नु सपना, किन बनाउने योजना ? किन देखाउने दम्भ ?’ उनको प्रश्न छ ।

मान्छेहरुले घमण्ड देखाएको देख्दा उनलाई अचम्म लाग्छ ।

‘एक सेकेण्डपछि के हुन्छ कसैलाई थाह छैन । तैपनि मान्छेले दम्भ देखाउन छाड्दैन,’ उनी भन्छिन् ।

आफैं रुन्छिन्

उनी अमेरिकाको एउटा कार्यक्रममा गाउँदै थिइन् । स्टेजभन्दा पर उनकै छोरीको उमेरका ६/७ किशोरी झुमिरहेका थिए ।

‘हामी पनि स्टेजमा आउँ ?’ उनीहरुले हातले इशारा गरे ।

‘आउ आउ,’ अञ्जुले इशारैले बोलाइन् ।

उनले सोचेकी थिइन्, किशोरीहरु गीतमा नाच्न खोजे । खासमा, उनीहरु त गीत सुनेर रुन आएका रहेछन् ।

दर्शकको परवाह नै नगरी उनीहरु अञ्जुको छेउमै बसी डाँको छोडेर रुन पो थाले ।

अर्का एक जना फ्यानको प्रसंग उनी कहिल्यै बिर्सन्नन् । अञ्जुका ती फ्यान नौबिसेको घुम्तिमा उनकै गीत सुन्दै गाडी चलाइरहेका थिए ।

‘अञ्जु पन्तको गीत सुनेपछि यही घुम्तीबाट गाडी छोड्दिन मन लाग्यो,’ ती फ्यानले संगीतकार बीबी अनुरागीलाई फोन गरेर भनेछन् ।

‘एकछिन् पख,’ बीबीले भनेछन् ।

हुन पनि, अञ्जुका अधिकांश गीत विरहले भरिएका छन् । अहिलेसम्म ६ हजारभन्दा बढी गीतमा स्वर दिएकी उनलाई लाग्छ, ७० प्रतिशत गीतमा आँशुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरु उनले धेरै भेटेकी छन् । अरु मात्र होइन, उनी स्वयं पनि आफ्नै गीत सुनेर रोएकी छन्, पटक-पटक ।

प्रायः ट्रान्जिटमा हुँदा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोशेलीस्वरुप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् । ‘तिम्रो आँखामा …’ बोलको गीत रेकर्डिङ गरिरहँदा उनका आँखाबाट आँशु झरेको थियो ।

एउटी महिला फ्यानले त गीत सुनेर आत्महत्या नै गरिन् ।

दोस्रो बिहे गरेका गायक मनोजलाई अञ्जुको सुझाव छ, ‘तपाईंको घरमा आमा, दिदी र श्रीमती हुनुहुन्छ, उहाँहरुलाई शितल छहारी दिनुस् ।’

‘मेरा सबैभन्दा धेरै फ्यान महिला नै छन् । केटाभन्दा पनि केटीहरु मरिहत्ते गर्छन्, खै के हुन्छ कुन्नि ?’ अञ्जु भन्छिन् ।

उनका गीत सुनेर वृद्धवृद्धा मात्र होइन, तन्नेरी पनि रोएका छन् । गीत सुनेर आँशु झार्नेहरु विदेशमा बढी भेटेकी छन् । विदेशका कार्यक्रममा सहभागी भएर स्वदेश र्फकंदा छुट्टनिे बेलामा उनीहरु अञ्जुको हात समाउँदै भन्ने गर्छन्, ‘जिन्दगी यो फुलैफूलको थुंगामा सुस्केरा हालेको सुन्दा सारै रुन मन लाग्छ नानी…।’

आरबीटीबाट अढाइ लाख बुझेकी अञ्जु अहिले नेपालकी व्यस्त र महँगी गायिका हुन् । उनले गाएको ‘सुर्के थैली खै…’ बोलको युट्युमा दुई करोड ३८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । यस्ता हिट गीतहरुको लामो अर्काइभ छ ।

भर्‍याङमै व्यायाम

दैनिक कम्तिमा आधा घण्टा रियाज नगरी अञ्जुलाई चित्त बुझ्दैन । समय मिल्यो भने त २/३ घण्टासम्म बिताउँछिन् । व्यायाम उनको अर्को अनिवार्य सर्त हो । त्यो पनि अर्गानिक स्टाइलमा ।

बिहान एकछिन मर्निङ वाक गर्ने अञ्जु आफ्नै घरको भर्‍याङ ‘अप एन्ड डाउन’ गर्छिन् ।

उनी भर्‍याङमा उँधोउँभो गरेको देखेर दाइहरु आत्तिन्छन्, ‘ए खुट्टा भाँच्चिएला कति कुदेकी ?’ दाइहरुले भनेको उनी सुन्दिनन् । ज्यान नथाकुञ्जेल तलमाथि गरिरहन्छिन् ।

‘बाहिरको वातावरण पनि उति राम्रो लाग्दैन । गतिलो पार्क पनि छैन,’ उनी भर्‍याङमै ओहोरदोहोर गर्नुको खास कारण सुनाउँछिन् ।

जामले झण्डै डिभोर्स

विश्वका धेरै मुलुक घुमिसकेकी अञ्जु चिल्ला सडकको यात्रामा मस्तले रमाएकी छन् । नेपालमा पनि यस्तै चिल्ला सडक कहिले बन्लान् भन्ने सोच्थिन् । काठमाडौंलगायत केही स्थानमा चिल्ला सडक पनि बने । तर, जाम रोकिएन ।

‘सडक मात्रै फराकिलो बनाएर हुन्न सिस्टम बन्नुपर्छ । हाम्रोमा सिस्टम बनाउनेतर्फ कसैले ध्यान दिएन,’ उनी भन्छिन् ।

प्रहरीले सुरु गरेको मापसे अभियान सफल भएको देखेकी अञ्जु थोरै आशावादी छिन् ।

‘सिस्टम बनाउने हो भने कार्यान्वयन हुन्छ । खाँचो छ सिस्टमको,’ उनी भन्छिन्, ‘बाटो खराब भएकै कारण सर्वसाधारणको समय र पैसा अनावश्यक खर्च भएको छ ।’

सिस्टमको विकास नहुनुमा उनी राज्यलाई मात्रै दोष दिन्नन् । ‘हामी आफैं पनि मुर्ख छौं,’ भन्छिन्, ‘चराहरु आफ्नै ठाउँमा गुँड बनाउँछन्, आफ्नै बाटोमा उड्छन् । जंगलमा हिँड्ने चौपाया आफ्नै रुटमा हिँड्छन् । ती कसैले अरुलाई अवरोध गर्दैनन् ।’

उनलाई उदेक लाग्छ, सबैभन्दा चेलनशील भनिएको मान्छे भने हिँड्नसमेत जान्दैन । अर्कालाई धकेलेर, उछिनेर, ठेलेर जसरी मन लाग्यो, उसैगरी हिँड्न खोज्छ ।

अञ्जुकै घरको तल्लो फ्ल्याटमा बस्ने एक दम्पत्तिको जामले गर्दा झण्डै डिभोर्स भएछ । जोरपाटीबाट हिँडेका दाजु चाबहिल आउँदा दुई घण्टा लागेछ ।

‘कहाँ बरालिएको ?’ भाउजूले साफ थर्काइछन् ।

‘म बरालिएको होइन जाममा परेको,’ दाजु भन्दा रहेछन् ।

एक दिन होइन, दुई दिन सधैं दुई घण्टा ढिला । दाजु र भाउजूको चर्काचर्की परिरहेका बेला अञ्जु पुगिन् र सम्झाइन् । अञ्जुको कुरा भाउजूले पत्याइन् । कुरो मिल्यो ।

सडकजस्तै संगीत उद्योग

अञ्जुलाई सडकजस्तै अस्तव्यस्त लाग्छ, नेपाली संगीत उद्योग पनि । अझै सिस्टम बन्न सकेको छैन ।

उनको विचारमा आजको पुस्ताले जति गर्‍यो, संगीत उद्योगलाई पूर्ण बनाउने काम भोलिको पुस्ताको हो । गीत-संगीतमा लाग्नेले नयाँ पुस्तालाई हृदयदेखि स्वागत गर्नुपर्छ ।

‘मैले जति गरेँ गरेँ । मैलेभन्दा राम्रो गर्नुपर्छ मेलिना राईहरुले । मैले उनीहरुलाई प्रेरणा दिनुपर्छ,’ उनी भन्छिन् ।

चरित्र हत्याको प्रयास

जतिबेला उनी चर्चाको शिखरमा थिइन्, त्यसैबेला जटिल रोगले आक्रमण गर्‍यो । पिनासबाट सुरु भएको उनको समस्या घाँटीमा पुग्यो ।

‘मेरो आवाज सर्पको जस्तो हुन थाल्यो । शरीरका हरेक नशा दुख्थे । सुताउने-उठाउने काम अरुले नै गरिदिनुपथ्र्यो,’ अञ्जु सम्झन्छिन् ।

होमियोप्याथी, एल्लोप्याथी, आयुर्वेद सबै उपचार गरिन् । थेरापीदेखि इन्डोस्कोपीसम्म गर्दा पनि नभएपछि झाँक्रीको समेत शरणमा पुग्नु परेको उनी बताउँछिन् ।

अञ्जुको एक पटक खुट्टा भाँचिएको थियो । उनी प्लास्टर गरेर घरमै बसेकी थिइन् । केही सञ्चारमाध्यमले समाचार लेखे, ‘अञ्जुका दुई ब्वाइ  फ्रेन्ड छन्, मोजमस्तीमा रमाउँदैछिन् ।’

समाचार पढेर उनी रोइन् । उनका जेठा दाजुले बहिनीको आँखामा आँशु देख्न सकेनन् । झुटो समाचार लेख्ने पत्रिकाको अफिसमा फोन गरे । फेरि अर्को समाचार आयो, ‘अञ्जु पन्तका दाइले पत्रकारलाई धम्क्याए ।’

‘अञ्जुलाई केटा नभई हुन्न, रक्सी नखाएसम्म अञ्जु निदाउँदिनन्’ जस्ता समाचारसमेत छापिए ।

वृद्धाश्रममा हुन्छ भेट

सानो छँदा अञ्जु दिदीसँगै स्कुल जान्थिन् । घरबाट खाजा खान दिदी-बहिनीलाई २/२ रुपैयाँ दिने चलन थियो ।

‘मैले जति गरेँ गरेँ । मैलेभन्दा राम्रो गर्नुपर्छ मेलिना राईहरुले । मैले उनीहरुलाई प्रेरणा दिनुपर्छ’

दिदी दुई रुपैयाँ सकाउँथिन् । तर, अञ्जु हरेक दिन एक रुपैयाा बचाउँथिन् । त्यसरी जम्मा गरेको पैसा संकलन गर्थिन् र नजिकै रहेको उमेश दाइको पसलमा साटेर ठूलो नोट लिन्थिन् । ५०, सय, पाँच सय हुँदै हजारको नोट बनाएर राख्थिन् । त्यसरी जम्मा गरेको पैसा उनी कुनै दुःखी, गरीबलाई बाँड्थिन् ।

करुणाले भरिएको त्यो सेवाभाव अहिले पनि उनको मनमा छँदैछ । बाटोमा हिँड्दै गर्दा कोही अशक्त वा वृद्धवृद्धा भेट भए भने गाडी रोक्छिन् र एकछिन भलाकुसारी गरेर केही पैसा दिन्छिन् ।

उनको सहयोगी मन देखेर शुभचिन्तकहरुले उनलाई सल्लाह दिए, ‘यसरी एक्लै गरेर पूर्ण सहयोग हुँदैन । संस्था बनाएर अघि बढ्नुस् ।’

अञ्जु पन्त फाउन्डेसनको जग त्यसपछि बस्यो ।

संस्था स्थापना भएको धेरै भएको छैन । यो संस्थाले तराईको बाढीबाट प्रभावित इटहरीको एउटा बस्तीमा पुगेर चार सय जनालाई खाना पकाउने ग्यास, लत्ताकपडा र खाद्यान्न वितरण गर्‍यो ।

बल्खुको जागरण बस्तीमा आगलागी भयो । त्यहाँ रहेका अढाइ सय बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्‍यो । फाउन्डेसनमार्फत् बालबालिका र चेलीबेटी बेचविखनविरुद्ध काम गर्ने उनको योजना छ ।

कुनै रेकर्डिङ छैन । स्टेज कार्यक्रम पनि छैन, अञ्जु पन्त नेपालमै छिन । फोन सम्पर्क भएन भने उनलाई खोज्दै सीधै पशुपति वृद्धाश्रम गए हुन्छ । त्यहीं भेटिन्छिन्, जहाँ एक सय तीन वर्षसम्मका आमाहरु छन् । ती आमाहरुका लागि भिक्स र तेल मालिस गरिदिन्छिन् । चकलेट, बिस्कुट दिन्छिन् र एकछिन भलाकुसारी गरेर हिंड्छिन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *