काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयमा हस्तक्षेप गरेपछि उपप्रधानमन्त्रीमा कमल थापासहित चार जना मन्त्रीको सपथ ग्रहण रोकिएको छ ।

देउवाले थापासहितका चार मन्त्रीलाई मन्त्रिपरिषद्मा थप गर्न गरेको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र कानुनविद्हरूसँग परामर्श थालेपछि सपथ रोकिएको हो ।

प्रधानमन्त्री देउवाले शनिबार संसदको म्याद सकिनुअघि नै शुक्रबार उपप्रधानसहित चार मन्त्री थप गर्ने निर्णय गरेको पत्र राष्ट्रपति कार्यालय पुगेको थियो। देउवाले शनिबार संसद विघटन भएपछि माओवादीका मन्त्रीलाई बर्खास्त गरी थपिएका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका थिए। तर, उनको योजनामा राष्ट्रपति बाधक बनेकी हुन् ।

माओवादी केन्द्र र एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भैसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गर्ने कार्य आचार संहिता विपरित हुने बताइरहेका बेला राष्ट्रपति भण्डारीले सपथग्रहण गराउनुअघि निर्वाचन आयोगसँग परामर्श गर्न लागेकी हुन्।

भण्डारीले शुक्रबारबाटै कानुनविदहरूसँग अनौपचारिक परामर्श लिइरहेको बताउँदै राष्ट्रपति कार्यालय शनिबार नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुँदैछ भन्ने हल्ला निराधार भएको जनाएको छ।

राष्ट्रपति कार्यालयले आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविदसँग परामर्श गरेर शपथ ग्रहणबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ। आयोगले यसअघि नै देउवाले विस्तार गरेको मन्त्रीपरिषद् विस्तारलाई आचारसंहिता विपरित भएको बताएको थियो।

यता वाम गठबन्धनले समेत प्रधानमन्त्रीको सरकार विस्तार गर्ने निर्णय गलत भएको बताएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *