२० असोज, चुनावी तालमेलपछि पार्टी एकता गर्ने सहमति गरेका प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म सरकार परिवर्तनको खेलमा नलाग्ने भएका छन् ।

सरकार परिवर्तनको तयारीमा लागे घोषित निर्वाचन प्रभावित हुने भएकाले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिन उनीहरू सहमत भएका छन् ।,

सरकार परिवर्तन गर्दा वा माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा कांग्रेस नेतृत्वको सरकारले १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्न सक्ने भएकाले त्यतातर्फ आफूहरू नलागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘अहिले सरकार परिवर्तनतर्फ सोच्दा वा माओवादी केन्द्रका मन्त्री फिर्ता बोलाइँदा सरकारले यही कारण देखाउँदै चुनाव सार्न सक्छ । चुनाव सरेको दोष हामीमाथि आउँछ । यसकारण सरकार परिवर्तनतर्फ हाम्रो सोच गएको छैन,’ सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले भने ।

पूर्वसभामुखसमेत रहेका नेम्वाङले ४ कात्तिकमा स्वतः संसद् विघटन भएपछि कामचलाउ सरकारले निर्वाचनको मिति सार्न नमिल्ने जिकिर गरे ।

घोषित प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा गराउनुपर्ने पक्षमा आफूहरू रहेकाले सरकार परिवर्तनको खेलमा नलाग्ने उनले बताए । एमाले–माओवादी गठबन्धनसँग सरकार फेर्न बहुमत पनि छैन ।

कांग्रेस नेतृत्वकै सरकारले निर्वाचन गराउँछ : माओवादी केन्द्र
रेखा शर्मा
माओवादी प्रमुख सचेतक
माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले स्थानीय तहको पहिलो चरणको निर्वाचन माओवादी नेतृत्वको सरकारले गर्ने र बाँकी निर्वाचन कांग्रेस नेतृत्वको सरकारले गर्ने सहमतिअनुसार नै आफूहरू अघि बढ्ने बताइन् । ‘अध्यक्ष प्रचण्डले निर्वाचनसम्म सरकारमै सहभागी हुने बताउनुभएको छ । एमालेले समेत सरकार परिवर्तन गर्नुपर्छ भनेको छैन । एमालेसँग चुनावमा तालमेल गर्ने र त्यसपछि मात्रै पार्टी एकता गर्ने भन्ने सहमति छ, अहिले नै सरकार परिवर्तनबारे कुनै छलफल भएको छैन,’ शर्माले भनिन् ।

कामचलाउ सरकारले चुनाव सार्न मिल्दैन : अधिकारी
राधेश्याम अधिकारी
कांग्रेस सांसद
कांग्रेस सांसद राधेश्याम अधिकारीले ४ कात्तिकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गर्नुपर्ने कुनै आधार नरहेको बताए । ४ कात्तिकमा संसद्को कार्यकाल सकिएपछि कामचलाउ हुने सरकारले निर्वाचनको मितिसमेत सार्न नमिल्ने उनको भनाइ छ । ‘अहिले सरकार परिवर्तनबारे वाम गठबन्धन लाग्नु भनेको निर्वाचन हुन नदिनु हो । त्यसो गरिए निर्वाचन सर्न सक्छ । तर, उनीहरूले नै सरकार परिवर्तन गर्न चाहेनन् भने प्रधानमन्त्रीले संसद् विघटन गर्नुपर्ने वा निर्वाचन सार्नुपर्ने कुनै कारण नै छैन,’ उनले भने ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *