पटक–पटक गाउँमा आएर स्थानीय बासिन्दालाई दुःख दिएपछि दुर्लभ एकसिंगे गैँडाको बच्चालाई उद्धार गरी चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार झण्डै दुई वर्षको भाले गैँडालाई भरतपुर महानगरपालिका–२७ मेघौलीको बुद्धनगरबाट उद्धार गरी सौराहा लगिएको हो ।
यो गैँडालाई यसअघि दुई पटकसम्म स्थानीय वनको भित्रि भागमा पुर्याएर छाडिएको थियो । तर यो गैँडाले फेरि गाउँमा आएर दुःख दिएपछि हात्तीले धपाएर कसरा पुर्याइएको भए पनि फेरि फर्किएर आएपछि उद्धार गरी सौराहा लगिएको हो ।
संरक्षण कोषमा यसअघि बाढीपछि उद्धार गरी ल्याइएको एउटा बच्चा गैँडा पनि रहेको छ । यो गैँडासँगै यसलाई राख्ने कँडेलले बताउनुभयो । गैँडालाई खोरमा राखी सौराहा लगिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार बेहोस गराई गैँडा लगिएको हो ।