५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीवारदेखि सुरु हुँदै छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजकै दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसरी गर्नुस् पूजा आश्विन शुक्ल प्रतिपदाको प्रातः कालको शुभमुहूर्तमा घटस्थापना गर्नुपर्छ । यसका लागि एउटा कतारोमा बालुवा लिएर त्यसमा जौ रोप्नुपर्छ । उत्तर कतारोमा जौका साथसाथै गंगाजल राखेर त्यसमा देवी भगवतीको आह्वान गरेर पूजन सम्पन्न गर्नुपर्छ । त्यो जौ दुई दिनपछि अंकुरका रूपमा प्रस्फुटित हुन्छ । त्यही अंकुर नै जमरा हो ।

जमरा अत्यन्तै पवित्र मानिन्छ । पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस् : ॐ अपवित्र: पवित्रो वा सर्वावस्थां गतोsपि वा। य: स्मरेत् पुंडरीकाक्षं स: बाह्याभ्यंतर: शुचि॥ ॐ पुनातु पुण्डरीकाक्ष: पुनातु पुण्डरीकाक्ष पुनातु॥ नमो दैव्यै महादेव्यै शिवायै सततं नम:। नम: प्रकृतयै भद्रायै नियता: प्रणता: स्मताम॥ या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे॥

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *