‘घरको मुली खाँबो नै ढल्यो,’ मनीले भावुक हुँदै दुःख पोखिन्, ‘यो चिल्ली र बिल्ली कसरी चित्त बुझाउँ ।’ ६ वर्षको अन्तरमा ४ छोरीहरु छन् उनका ।
मिठो मसिनो खाने र आराम गर्ने बेला मनी बच्चा डोकोमा बोकेर गाउँ चहार्नुपरेको छ । ‘मैले नमागे कस्ले माग्ने ? ७५ बर्षे बुढी सासु र चार छोरी कसरी पाल्ने ।’ किरिया उम्केको अर्को दिनबाट उनी बाँच्नकै लागि बच्चा बोकेर गाउँ डुलेकी हुन् ।
सुत्केरी भएपनि घरमा केहि छैन, माग्दा जे दिन्छन् त्यहि खान्छिन । गरिवीको चरम अवस्था व्यहोरेकी उनी सुत्केरी भएको सातापछिबाटै मेलापातमा निस्किएकी थिइन् । जनचेतनाकै अभावका कारण उनलाई धेरै सन्तान जन्माउँदाका बेफाइदाको पत्तो थिएन् ।