पोखरा, २८ भदौ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) कास्की शाखाको आयोजनामा पोखरामा अस्ट्रेलियाको अन्तरास्ट्रिय विद्यार्थी भिजा नीतिसम्बन्धि बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शाखा अध्यक्ष मिलन तिवारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको प्रमुख बक्ताको रुपमा ईक्यानका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे रहेका थिए। पाण्डेका अनुसार अस्ट्रेलिया जहिले पनि शैक्षिक, भाषिक र आर्थिक रुपमा स्मार्ट विद्यार्थीको खोजीमा रहेको छ । अस्ट्रेलियन सरकारको आप्रवासन तथा सिमा सुरक्षा बिभाग(डिआईबिपी)ले हालै एजेण्ट डाइजेस्ट शिर्षकमा भारत, बंगलादेश र नेपाललाई लक्षित गरि एक प्रतिबेदन जारी गरेको छ ।
उक्त प्रतिबेदनमा उल्लेख गरी अनुसार उप्रान्त शैक्षिक ऋणलिएर भिजा आबेदन पेश गर्ने बिध्यार्थीहरुले कम्तिमा पनि १ वर्षको लागि अस्ट्रेलियामा खान र बस्न लागे खर्च, ट्राभल खर्च, ईन्स्योरेन्स र सम्बन्धित कलेज/बिश्वबिद्यालयले तोकेको न्युनतम अध्ययन शुल्क बराबरको रकम सम्बन्धित बैंकबाट अनिवार्य डिस्बर्स गर्नुपर्ने भएको छ। शैक्षिक परामर्श अत्यन्तै संबेदनशील विषय रहेको हुँदा कुनै पनि देशका भिजा नीतिमा हुने परिबर्तनहरुलाई शैक्षिक परामर्शदाताहरुले बेलैमा बुझेर मात्रै आफ्ना बिद्यार्थी/अभिभावकहरुलाई जानकारी प्रदान गर्नु पर्ने कुरा शाखा अध्यक्ष तिवारीले बताए ।
करिब ४० जना शैक्षिक परामर्शदाताहरुको सहभागितामा सम्पन्न अन्तरक्रियाको सहजीकरण ईक्यान कास्कीका सचिब भुवन क्षेत्रीले गरेका थिए । ईक्यानले आफ्ना सदस्य संस्थाहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले यस्ता खाले अन्तरक्रिया तथा विभिन्न तालिमको आयोजना गर्दै आइरहेको कोषाध्यक्ष रुद्र अर्यालले बताए। कार्यक्रममा बोल्दै ईक्यान केन्द्रिय सदस्य डि. बी. गुरुङ्गले डिआईबिपिले यो प्रतिबेदन मार्फत आगामी दिनमा बिद्यार्थी भिजा नीतिमा केहि कडाई गर्न खोजेको संकेत गरेको बताए ।