पोखरा, २२ भदौ । मित्रराष्ट्र चीनको कुन्मिनका उप प्रमुख लि जिगोङले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछिका लगानीका सम्भावनाहरुबारे आफूहरुले अध्ययन गरिरहेको बताउनुभएको छ ।

उहाँको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलको सम्मानमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विमानस्थल निर्माणपछि यहाँको पूर्वाधारको क्षेत्रमा आवश्यक पर्ने लगानी गर्न चिनियाहरु तयार रहेको समेत जानकारी दिनुभयो ।
‘विमानस्थल बनेपछि कुन्मिनबाट पोखराको हवाई यात्रा दुई घण्टाको हुन्छ, त्यो बेला धेरै चिनियाहरु पोखरा आउँछन्’,उहाँले भन्नुभयो,‘त्यो बेला यहाँको पर्यटनको क्षेत्रलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको सम्भावनाबारे हामीले चासो राखेका छौँ ।’

चिनिया पर्यटकहरुको वृद्धिसँगै आवश्यक पर्ने गाइड, चिनिया खानपान गर्ने रेष्टुरेण्टहरु तथा चिनिया भाषामा सामान्य कुरा गर्न सक्ने दोभासेको आवश्यकता औंल्याउँदै उहाँले चिनिया भाषा तालीमको लागि पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने घोषणा पनि गर्नुभयो । पोखरा र कुन्मिनको भौगोलिक वातावरण उस्तै रहेको बताउँदै उहाँले चीनको तीव्र आर्थिक विकासबाट लाभ लिन नेपाली उद्यमी÷व्यवसायीसँग आग्रह पनि गर्नुभयो । कार्यक्रममा भ्रमण दलका सदस्यहरुलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको विकास निर्माणमा पोखरा उद्योग वाणिज्य संघले खेलेको भूमिकाबारे चिनिया पक्षलाई जानकारी दिनुभयो ।

पोखराको आर्थिक विकासमा चीनको सहयोगको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले पोखरा उद्योग वाणिज्य संघ सम्भावनाका हरेक क्षेत्रमा कुन्मिनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु, उद्योग र वाणिज्यतर्फका उपाध्यक्षहरु क्रमशः गोकर्ण कार्की र विन्दु कोइराला सुवेदी, महासचिव रवीन्द्रबहादुर प्रजुलगायतको सहभागिता रहेको थियो ।

बाढी पहिरो पीडित राहतकोषमा संगीत प्रशिक्षण केन्द्र र डाक्टर्स वाइभ्स एसोसियनको सहयोग

पोखरा उद्योग वाणिज्य संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा संगीत तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुले पनि सहयोग गरेका छन् । बिहीरबार संगीत प्रशिक्षण केन्द्र, पोखराको संरक्षकत्वमा रहेको फूलमुन म्युजिकल ग्रुपको तर्फबाट ४५ हजार ५ सय ५ रुपैयाँ सहयोग प्राप्त भयो भने डक्टर्स वाइफ एसोसियसन, पोखराको तर्फबाट १०हजार १ सय १५ रुपैयाँ प्राप्त भएको छ ।
संगीत प्रशिक्षण केन्द्रअन्तर्गतको फूलमुन म्युजिकल ग्रुपले बाढी पहिरो पीडतको लागि विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम गरी रकम संकलन गरेको थियो ।
फूलमुनले संकलन गरेको रकममा संगीत प्रशिक्षण केन्द्रको तर्फबाट पनि थप सहयोग गरिएको केन्द्रका अध्यक्ष गौतम विजुक्छेले बताउनुभयो । केन्द्रका अध्यक्षसहित निवर्तमान अध्यक्ष सुरेन्द्रमान विजुक्छे, राहत संकलन अभियानका संयोजक एमडी काफ्ले, सचिव कृष्ण मर्सानीले सो रकम पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । रकम ग्रहण गर्दै कार्यक्रमका समेत प्रमुख अतिथी रहनु भएका महासचिव अधिकारीले मानवीय कार्यमा संगीत क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पनि मन्तव्य राख्नु भएको थियो ।

यता, पोखरामा कार्यरत डाक्टरहरुका श्रीमतीहरुले स्वतःस्फूर्त रुपमा पोखरा बाढी पीडित राहत कोषमा १० हजार १ सय १५ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । डाक्टर्स वाइभ्स एसोसियनसका अध्यक्ष भवानी श्रेष्ठसहितको प्रतिनिधीमण्डलले सो रकम संघका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु तथा कार्यसमिति सदस्य प्रेमबहादुर भुजेलको पनि उपस्थिति रहेको थियो । हालसम्म सो कोषमा १२ लाख ७ हजार ३ सय ४८ रुपैयाँ संकलन भएको छ ।

बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
१. संगीत प्रशिक्षण केन्द्रबाट सहयोग हस्तान्तरण
२. डाक्टर्स वाइभ्सबाट सहयोग
३. चिनिया प्रतिनिधिीमण्डलको स्वागत

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *