काठमाडौं, २१ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन भ्रमणमा जाने भएका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा महरा ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जान लागेका हुन् ।
नयाँ संविधान घोषणापछि चीन भ्रमणमा जाने महरा दोस्रो परराष्ट्रमन्त्री हुन् । यसअघि केपी ओली नेतृत्व सरकारका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको ६ दिने औपचारिक भ्रमण गरेका थिए ।
परराष्ट्र मन्त्रालयले द्विपक्षीय हित प्रवर्द्धनका लागि महरा चीन भ्रमणमा जान लागेको जनाएको छ ।
महरासँगै उनको टोलीमा परराष्ट्रका सहसचिव गणेश ढकाल, मन्त्रालयका उपसचिव कुमार राई, महराका प्रेस तथा जनसम्पर्क सल्लाहकार हरि लामिछाने सहभागी हुने छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, राजनीतिक काउन्सिलर हरिश्चन्द्र घिमिरे, उपनियोग प्रमुख सुशीलकुमार लम्साल चीनमै रहेकाले उनीहरु उतैबाट भ्रमण टोलीमा मिसिने छन् ।