आखिर किन गर्यो माओवादीले नागरिकको हत्या? माओत्सेतुङद्वारा प्रतिपादित जनयुद्ध कार्यक्रममा सर्वसाधारणलाई यातना नदिनू भन्ने निर्देशन छ। एक त २०५२ सालमा लोकतन्त्र आगमनको ६ वर्ष नबित्दै ऐतिहासिक उत्पीडनलाई खलास पार्न सशस्त्र द्वन्द्व आवश्यक थियो भन्ने माओवादी नेतागणको दाबी स्विकार्न गाह्रो छ। लडाइँ गर्नु नै थियो भने त्यो राज्यसत्ता तथा सुरक्षा फौजतर्फ लक्षित हुनुपर्नेमा निहत्था, निर्दोष स्थानीय अगुवा, शिक्षक, समाजसेवी, कार्यकर्ता, व्यापारी, बौद्धिकको हत्या गर्ने औपचारिक तरिका अपनाइयो। नेपालको माओवादीले अग्रज ठानेका ७० को दसकका भारतका नक्सालवादी व्यक्तिहत्या (टार्गेटेड किलिङ)मा लागेका थिएनन्।
