काठमाडौं, ११ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भारत भ्रमण सफल भएको दाबी पनि गरे ।
४८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै देउवा गत बुधबार नयाँदिल्ली गएका थिए । उनी नेपाल एयरलाइन्सको विमानबाट राति करिब साढे आठ बजे काठमाडौं ओर्लिएका छन् ।
दिल्लीमा उनले फेरि संविधान संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ । यसबारे पत्रकारको जिज्ञासामा देउवाले भने, ‘मैले देशमा भएको यथार्थ कुरा भनेको छु। कुनै नराम्रो कुरा बोलेको हैन।’
सत्ता साझेदार दलले समेत आलोचना गरिरहेको बेला उनकै पार्टी नेपाली कांग्रेसले भने उक्त अभिव्यक्तिमा ‘रणनीतिक’ महत्व रहेको दाबी गरेको छ ।
दुई देशबीच आपसी सम्बन्धमा विश्वास कायम गरी राष्ट्रहितमा प्रयोग गर्ने नै भ्रमणको मुख्य उद्देश्य रहेको भन्दै देउवाले त्यसमानेमा आफ्नो भ्रमण सफल भएको बताए । सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयासस्वरुप अघि बढाइएको र यही विषयलाई आफूले भारतमा उठाएको प्रधानमन्त्री देउवाले बताए ।